२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

‘नेपाल टेलिकम रुपन्देही सुपर लिग–२०७८’ फागुन ७ देखि

बिहिवार , फाल्गुण ५, २०७८

भैरहवा, ५ फागुन ।
रुपन्देही क्रिकेट संघको आयोजनामा वि.सं. २०५४ सालदेखि हुँदै आइरहेको रुपन्देही सुपर लिगको नयाँ संस्करण ‘नेपाल टेलिकम रुपन्देही सुपर लिग–२०७८’ यही फागुन ७ गते शनिबारदेखि हुने भएको छ । नेपाल टेलिकमको प्रमुख प्रायोजनमा भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगिता चैत १२ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघले बिहीबार भैरहवामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको छ ।

प्रतियोगितामा ए र बी डिभिजन गरी २० वटा टीम सहभागि हुने रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए । प्रतियोगितामा बी डिभिजका टिमहरु लुम्बिनी शाक्यान लुम्बिनी देवदह क्रिकेट युनिट देवदह, बुटवल युथ बुटवल, सैनामैना क्रिकेट क्लब सैनामैना, प्रोफेसनल मास्टर्स भैरहवा, ज्ञानोदय क्रिकेट क्लब नयाँमिल, तिलोत्तमा क्रिकेट क्लब मणिग्राम, स्टार क्रिकेट क्लब पडसरी, साई ग्लोबल क्रिकेट क्लब भैरहवा, बुटवल राईनोज बुटवल, शंकरनगर क्रिकेट क्लब शंकरनगर र गोलपार्क क्रिकेट क्लब बुटवलको सहभागिता हुने गुरुङले जानकारी दिए ।त्यस्तै ए डिभिजनका टिमहरु वेस्टर्न क्रिकेट क्लब बुटवल, न्यू होराइजन क्रिकेट क्लब बुटवल, लुम्बिनी खुकुरी क्लब बेलहिया, बुद्ध क्रिकेट क्लब भैरहवा, तिरुपति क्रिकेट क्लब भैरहवा, मेलबर्न क्रिकेट क्लब भैरहवा, एक्स्पर्ट जी आर बेल्बास र बुटवल ११ बुटवलको सहभागिता रहने उनले जानकारी दिए ।

रुपन्देही सुपर लिगको सम्पूर्ण खेल एकदिवसीय ५०–५० ओभरको फर्मेटमा खेलाइने उनले बताए । फाइनलसम्म यस वर्षको रुपन्देही सुपर लिगमा ३१ वटा म्याच हुने उनले बताए ।

लिगको विजेतालाई रु. ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई रु. ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, म्यान अफ द सिरिजलाई रु. १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई रु. ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।

त्यस्तै म्यान अफ द म्याच (प्रत्येक खेल)मा रु. १ हजार २ सयसहित ट्रफी प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ । 
यस वर्षको रुपन्देही सुपर लिगको अवधिभरका लागि सम्पूर्ण खेलाडी र अफिसियलहरुको दुर्घटना बीमा संघले गराउने जानकारी गराएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ९ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा सहभागि हुन प्रतिटिम रु. ८ हजार प्रवेश शुल्क तोकिएको छ । रुपन्देही क्रिकेट संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीको अध्यक्षता तथा सचिव संजय गुरुङको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रममा रुपन्देही सुपर लिगका संयोजक भरत थापा, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी., निवर्तमान अध्यक्ष दीपेश पछाई लगायतको उपस्थिति रहेको थियो ।