
शुक्रवार , फाल्गुण ६, २०७८
बुटवल, ६ फागुन ।
कोरोना महामारीको तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढ्दै गएपछि स्थगित गरिएको ‘लाफा’ बी लेभल पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ ।
लाफा समूह बुटवलले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको ‘लाफा’ बी लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता २०७८ कोभिड १९ को तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढेसंगै सरकारले विद्यालय, सार्वजनिक यातायात, सिनेमा हल, जिम हाउस लयायत खेलकुदका विभिन्न गतिविधिहरुमा रोक लगाएसंगै प्रतियोगिता पनि स्थगित गरीएको थियो ।
अहिले नेपालमा कोभिड संक्रमण कम हुदै गएपछि सरकारले रोक लगाएका क्षेत्रहरु खुलेसंगै प्रतियोगिता आयोजना गरिएको समूहका अध्यक्ष तारा रेश्मीमगर जानकारी दिए । साथै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पनि उनले जानकारी दिए ।
समूहले माघको २२ र २३ गते २ दिने लाफा बी लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । हालसम्म प्रतियोगितामा लुम्बिनी प्रदेश सहित चितवन, मनाङ्ग, स्याङ्गजा, बाग्लुङ्ग र दाङ्गका खेलाडीहरुले टिम दर्ता गरेको खेल संयोजक पुरन गाहाले जानकारी दिए । अहिलेसम्म खुल्लामा ३८ र भेट्रानमा २९ टिमले दर्ता गरेको उनले जानकारी दिए ।
प्रतियोगितामा खुलातर्फका विजेताले ३५ हजार नगद, ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले २० हजार तथा तेस्रो हुनेले १० हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । त्यसै गरी उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी तथा उदयमान खेलाडीलाइ विशेष पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक तथा समूहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए ।
त्यस्तै भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ २५ सय दर्ता शुल्क र भेट्रान्सतर्फ २ हजार दर्ता शुल्क राखिएको थापाले जानकारी दिए । शनिबार बिहान ९ बजे बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रतियोगिताको उदघाटन गर्ने संयोजक थापाले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयाँ खर्च अनुमान गरिएको समूहका संरक्षक बासुदेब लामिछाने मगरले जानकारी दिए । खेलप्रेमी र विभिन्न संघ–संस्थाहरुको सहयोगबाट प्रतियोगिता गर्न लागिएको उनले बताए । लगातार ३ वर्षसम्म राष्ट्रिय लेभलको ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको समुहले यस वर्ष स्थानीयस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बी लेभलको प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij