२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रुपन्देहीका सञ्चारकर्मीबीच मिडियाकप फुटसल

शुक्रवार , फाल्गुण १३, २०७८

लुम्बिनी, १३ फागुन ।
रुपन्देहीका सञ्चार गृह तथा सञ्चारकर्मीबीच दोस्रो ‘टेन स्टिल्स मिडियाकप फुटसल–२०७८’ आयोजना गरिने भएको छ । ग्लोबल सञ्चारगृहद्वारा सञ्चालित ग्लोबल आवाजले यही फागुन २० गते तिलोत्तमा भलवारीको सनराइज फुटसल एरिनामा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । कोभिड संक्रमणका कारण संकटमा परेका सञ्चारगृह र सञ्चारकर्मीलाई मानसिक र शारीरिक रुपमा स्फूर्त बनाई भ्रातृत्व भाव विकास गर्ने उद्देश्यले खेल आयोजना गरिएको प्रतियोगितामा जिल्लाका एक दर्जन भन्दा बढी सञ्चारगृहको सहभागिता रहने र प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको थियो । 

प्रतियोगिताले सञ्चारकर्मी र सञ्चारगृहबीच भ्रातृत्व विकास गर्नाका साथै थप नयाँ ऊर्जा प्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको आयोजक संस्थाका प्रबन्धक गौतम भुसालले बताए । गत वर्षदेखि आयोजना गरिएको प्रतियोगिताबाट प्राप्त सुझाव तथा प्रतिक्रियालाई मध्यनजर गरी वार्षिक रुपमा नियमित प्रतियोगिता सञ्चालन गर्ने गरी दोस्रो पटक पनि फुटसल प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए । 

प्रतियोगितामा प्रथम पुरस्कार रु २५ हजार र दोस्रो पुरस्कार रु १५ हजारसहित कप, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । यसैगरी विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु तीन हजार ५०० तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट फरवार्डरले जनही रु दुई हजार ५०० का साथै  कप, पदक तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न रु चार लाख भन्दा बढी खर्च  लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा महिला पत्रकारबीच पनि मैत्रीपूर्ण खेल आयोजना हुने जनाइएको छ । रासस