
बिहिवार , फाल्गुण १९, २०७८
भैरहवा, १९ फागुन ।
नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्तर्गत डिभिजन ‘बी’ को अन्तिम खेलमा शंकरनगर क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई ९ विकेले पराजित गर्दै जित निकालेको छ । जितसँगै शंकरनगर डिभिजन ‘ए’ मा प्रवेश गरेको छ ।
बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर व्याटिङ गरेको गोलपार्कले निर्धारित ५० ओभरको खेलमा १५ ओभरमै अलआउट हुँदै ६४ रनमै समेटियो । उसका लागि युवराज सेवेदीले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्ने क्रममा बलिङमा शंकरनगरका जगत क्षेत्रीले ४, सिराज गैरे र विराट भण्डारीले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको शंकरनगरले ८ ओभरमा एक विकेटको क्षतिमा ६८ रन बनाउँदै सहज जित निकाल्यो । उसको जितमा विराट भण्डारीले ४१ र विशालविक्रम केसीले १२ रन बनाए । बलिङमा गोलपार्कका हेमन्त ओलीले १ विकेट लिए । शंकरनगरका जगत क्षेत्री म्यान अफ द म्याच भए । उनले एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
शुक्रबारदेखि डिभिजन ‘ए’ का खेल सुरु हुनेछन् । डिभिजन ‘ए’ अन्तर्गत शुक्रबार होराइजन क्रिकेट क्लब र एमसीसीबीच प्रतिष्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए ।
चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij