२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बाचुञ्जेल राम्रो काम गर्नु नै सफल जीवन हो : कृषिमन्त्री भुसाल

शुक्रवार , कार्तिक ७, २०७७

भैरहवा, ७ कार्तिक । 
संघीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले बाचुञ्जेल मान्छेले जति राम्रो काम गर्छ त्यति नै उसको जीवन सफल हुने बताएका छन् ।

भैरहवामा दशकौंदेखि चिकित्सिय सेवा दिदैंआएकी डा. निशा किरण बस्यालको निधनको ८ औ दिनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही क्षेत्र नम्बर ३ को संयोजनमा भएको श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले भने, ‘डा. निशाकिरणले आफ्नो जीवनकालमा दुःखी गरीबको सेवामा दिनुभएको समय स्मरणीय हुनेछन् । उहाँ र उहाँको श्रीमान डा. रामप्रसाद बस्यालले रुपन्देहीका दीनदुःखीहरुको उपचारमा पुर्‍याएको योगदान अतुलनीय छ, राज्यले कदर गरिरहनेछ ।’

नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका भुसालले मानवीय सेवामा समर्पित डा. निशा किरणको निधनले समाजलाई अतुलनीय क्षति पुगेको बताए । उनले भने, ‘उहाँ जति दिन बाच्नुभयो, मानवसेवामा क्रियाशिल हुनुभयो, यसैले उहाँको जीवन सफल हो भन्नुपर्छ ।’ मन्त्री भुसालले हरेक मानिस बाचुञ्जेल मानवीय र सामाजिक सेवामा लाग्नुपर्ने पनि बताए ।

स्वर्गीय निशाकिरणको श्रीमान् डा. रामप्रसाद बस्याल सामुदायिक रेडियो रुपन्देही एफ.एम. १०२ मेगाहर्जका अध्यक्ष, रुपन्देही क्याम्पसको अध्यक्ष तथा विभिन्न सामाजिक संघ–संस्थामा क्रियाशिल छन् । नेकपाका नेता समेत रहेका डा. रामप्रसाद बस्याल परिवारले रुपन्देहीमा सामाजिक सेवामा अग्रणी योगदान दिएको छ ।  

मन्त्री भुसाल शुक्रबार काठमाडौबाट भैरहवा आउनुभएको नेकपा रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीले बताए ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा पूर्व भुमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँ, नेकपा नेताहरु पुरुषोतम घिमिरे, खेम लुइटेल, विश्वराज बराल (अनुप), मकसुद अलि, कमला थापा, फैज अहमद खान, चोपलाल आचार्य, जीवलाल अर्याल, तारापति भण्डारी लगायतको उपस्थिति रहेको थियो ।