
शनिवार , फाल्गुण २१, २०७८
बनियानी, २१ फागुन ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्ने बताएका छन् । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि जारी नेपाल आइस पाँचौँ झापा गोल्डकपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताएका हुन् । “खेलकुद एउटा पोलिटिकल पार्टी होइन, खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छ”, उनले भने, “खेलकुदको विकासका लागि सबै पार्टी, सबै संघसंस्था र सरोकारवालालाई लाग्न म आग्रह गर्छु ।”
खेलकुद क्षेत्रको विकास सबैको चासो, चिन्ता र उन्नतिको विषय भएको उनले उल्लेख गरे । अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासमा आफू सदैव लागिपरेको र लागिपर्ने धारणा राखे ।
झापा गोल्ड कपको सफलताको कामना गर्दै अध्यक्ष ओलीले खेलाडीलाई इमान्दार भएर खेल्न आग्रह गरे । उनले भने, “खेलमा दक्षता प्रयोग गर्नुहोस्, कपट होइन, दक्षताबाटै खेल जित्न म आग्रह गर्छु ।” आफ्नो पार्टी नेकपा (एमाले)ले खेल क्षेत्रको विकासलाई विशेष महत्व दिएको उनको भनाइ थियो ।
रंगशाला निर्माणका लागि डोमालाल राजवंशीको परिवारले दान दिएको जग्गामा कसैले आँखा नलाउन उनले आग्रह गरे । “म डोमालाल राजवंशी परिवारलाई धन्यवाद दिन्छु, जसले जग्गा दान दिएर रंगशाला बनेको छ”, उनले भने, “अरुले दान दिएको जग्गामा कसैले आँखा लगाउनु हुँदैन ।”
विभिन्न १० वटा टिम सहभागी पाँचौँ संस्करणको झापा गोल्ड कपको विजेताले नगद रु १२ लाख ५५ हजार र उपविजेताले नगद रु ६ लाख पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् । साथै मस्ट भ्यालुएबल प्लेयरलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु २१ हजार, उच्च गोलकर्तालाई रु २५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु नौ हजार ९९९ प्रदान गरिने आयोजकले जनाएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij