२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रुपन्देही सुपर लिग : जीआर क्रिकेट क्लब विजयी

सोमवार , फाल्गुण २३, २०७८

भैरहवा, २३ फागुन ।
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा जीआर क्रिकेट क्लबले प्रोफेसनल मास्टर्स–११ लाई ६ विकेटले पराजित गर्दै जित हात पारेको छ । हारसँगै प्रोफेसनल भने डिभिजन ‘बी’ मा घटुवा भएको छ ।

सोमबार सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले निर्धारित ५० ओभरको खेलमा ३० ओभर खेल्दै सबै विकेटको नोक्सानीमा १ सय ४५ रनको योगफल बनाएको थियो । उसका लागि अभिषेक क्षेत्रीले नटआउट ३९ र सेजाद आलमले २४ रन बनाए । जीआरका सुवाष विकले १० ओभर बलिङ गर्दै ३ मेर्डन राखेर २४ रन खर्चेर ५ विकेट लिए । यस्तै, सुप्रिम बेल्बासेले ८ ओभर बलिङ गर्दै १ मेर्डन राखेर ४१ रन खर्चेर ४ विकेट लिए । 

प्रतिउत्तरमा २९.१ ओभरमा ४ विकेटको क्षतिमा १ सय ४८ रन बनाउँदै जीआरले जित निकाल्यो । उसको जितमा सुवाष विकले नटआउट ३५ रन जोडे । उनी म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे । यस्तै, विशाल भुसालले ३०, रोहित विक र सन्दीप सुनारले समान २२–२२ रनको योगदान दिए । बलिङमा प्रोफेसनलका दिनेश अग्रहरीले २ विकेट लिए । मंगलबार तिरुपति क्रिकेट क्लब र वेष्टर्न क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।