२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सुपर सिक्स क्रिकेट : उपाधि मारवाडी युवा मंच रेडलाई

मंगलवार , फाल्गुण २४, २०७८

भैरहवा, २४ फागुन ।
मारवाडी युवा मचको आयोजनामा सम्पन्न ‘मारवाडी सुपर सिक्स क्रिकेट टुर्नामेन्ट–२०७८’ को उपाधि मारवाडी युवा मंच रेडले जितेको छ । भैरहवास्थित पक्लिहवा कृषि क्याम्पसको मैदानमा भएको खेलमा मारवाडी युवा मंच रेडले मारवाडी युवा मंच ग्रेलाई ५ विकेटले पराजित गर्दै जित हात पारेको छ । जितसँगै उसले प्रमाणपत्र र ट्रफी हात पारेको कार्यक्रम संयोजक दामोदर शर्माले बताए ।

टस हारेर ब्याटिङ गरेको ग्रेले निर्धारित ६ ओभरको खेलमा ५ विकेटको क्षतिमा २९ रन बनाएको थियो । उसका लागि आदेश चौधरीले ९ रन बनाए । बलिङमा आदर्श अग्रवालले २, दामोदर शर्मा, अर्चित बेरिवाल र अशोक डाँगाले १/१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको रेडले ४ ओभरमा १ विकेटको क्षतिमा ३० रन बनाउँदै जित निकाल्यो । उसको जितमा दामोदर शर्मा र मनिष अग्रवालले समान ११/११ रनको योगदान दिए । आदर्श अग्रवाल म्यान अफ द म्याच भए । अर्चित बेरिवाल म्यान अफ द टुर्नामेन्ट भई पुरस्कृत भए ।

यसअघि रेडले लुम्बिनी राउण्ड टेबल–१६ लाई ५ विकेट र मारवाडी युवा मंच ग्रेले सिद्धार्थ राउण्ड टेवल–६ लाई ४ रनले पराजित गर्दै फाइनल पुगेका थिए । टस जितेर ब्याटिङ गरेको ग्रेले ६ ओभर पुरै खेल्दै ५३ रन बनायो । उसका लागि अंकित महेश्वरीले नटआउट ३६ रन बनाए । बलिङमा राउण्ड टेबलका रौनक अग्रवालले २ र सोमेस अग्रवालले १ विकेट लिए ।

जवाफमा राउण्ड टेबलले २ विकेट गुमाउँदै ४९ रन बनायो । उसका लागि एस जैसवालले नटआउट ३२ रन बनाए । बलिङमा ग्रेका अंकित महेश्वरी र आदेश चौधरीले समान १–१ विकेट लिए । म्यान अफ द म्याच अंकित हेश्वरी भए ।

अर्को खेलमा टस जितेर ब्याटिङ गरेको राउण्ड टेबल–१६ ले पुरै ओभर खेल्दै सबै विकेट गुमाएर ३५ रन बनायो । उसका लागि सौरव अग्रवालले १० र अप्रित अग्रवालले ८ रन बनाए । बलिङमा रेडका अर्चित बेरिवालले २, अशोक डाँगा, सुमित शास्वत र आदर्श अग्रवालले समान १/१ विकेट लिए ।

जवाफमा रेडले ३ ओभरमा १ विकेटको क्षतिमा ३६ रन बनाउँदै जित निकाल्यो । उसका लागि दामोदर शर्माले नटआउट १४ र मनिष अग्रवालले नटआउट १२ रन बनाए । बलिङमा संचित अग्रवालले १ विकेट लिए । म्यान अफद म्याच अर्चित बेरिवाल भएको कार्यक्रम सह–संयोजक आदर्श अग्रवालले जानकारी दिए ।

विजयी खेलाडीलाई युवा मंचका अध्यक्ष विनित बेरिवाल, प्रमुख अतिथि मारवाडी सेवा समिति र युवा मंचका पूर्वअध्यक्ष ऋषिकेष अग्रवाल, सेवा समितिका महासचिव अरुण अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका वरिष्ठ उपाध्यक्ष मनोज अग्रवाल, सेवा समितिका सदस्य सुनिल जैन लगायतले पुरस्कार प्रदान गरेका थिए ।