२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रुपन्देही सुपर लिग : तिलोत्तमा क्रिकेट क्लब विजयी

बिहिवार , फाल्गुण २६, २०७८

भैरहवा, २६ फागुन ।
रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तर्गत डिभिजन ‘ए’को बिहीबारको खेलमा तिलोत्तमा क्रिकेट क्लबले बुद्ध क्रिकेट क्लबलाई ८१ रनले पराजित गर्दै जित निकालेको छ ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर व्याटिङ गरेको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ४८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९९ रनको योगफल बनाएको थियो । उसका लागि अमरसिंह रौतेलले ५२, भुवन गैरेले ४८ र विकल अधिकारीले १९ रन बनाए । बलिङमा बुद्धका अमित अग्रहरीले ३, विपिन खत्री, सुवाष भण्डारी र अजय त्रिपाठीले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुद्ध २९.१ ओभरमा सबै विकेटको क्षतिमा १ सय १८ रन मात्रै बनाउन सक्यो । उसका लागि सलिम अलीले ३३, विपिन खत्रीले १९ र सुवाष भण्डारीले १८ रन बनाए । बलिङमा तिलोत्तमाका अमरसिंह रौतेलले ४ विकेट लिए । उनी म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे । यस्तै, कृष्ण कार्की, कृष्ण पराजुली र कृष्ण भुसालले समान २–२ विकेट लिएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।