२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भैरहवामा ‘१३ औं लियो कर्पोरेट सुपर सिक्सेज टुर्नामेन्ट’ हुँदै

बिहिवार , फाल्गुण २६, २०७८

भैरहवा, २६ फागुन ।
लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा भैरहवामा ‘१३ औं लियो कर्पोरेट सिक्सेज टुर्नामेन्ट’ हुने भएको छ । विगत १२ औं वर्षदेखि गराउँदै आएको क्रिकेट प्रतियोगितालाई निरन्तरता दिदै यस वर्ष पनि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ । 

प्रतियोगिता फागुन २८ गते शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने क्लबका अध्यक्ष सतिष भुसालले बताए । यस वर्ष डे–नाइट टुर्नामेन्ट गरी एकैदिनमा सम्पूर्ण लिग चरणको खेलहरु बिहान ८ बजेदेखि सुरु गरी क्वार्टर फाइनल, सेमीफाइनल लगायतका खेलहरु सोही दिनमै समापन गरिने भुसालले जानकारी दिए । प्रतियोगिताको आयोजनामा रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोग रहेको उनले बताए ।

प्रतियोगितामा ११ वटा टीमको सहभागिता रहने कार्यक्रम संयोजक सन्देश के.सी.ले बताए । प्रतियोगितामा ग्लोबल आइएमई, सिटिजन इन्टरनेशनल, एनएमबी, नबिल, बैंक अफ काठमाडौं, सेञ्चुरी कमर्सियल, लक्ष्मी, कृषि विकास, महालक्ष्मी विकास, आइसीएफसी फाइनान्स र सानिमा बैंक लिमिटेडको सहभागिता रहने उनले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजक आँगन रेष्टृरेण्ट एण्ड थकाली घर, सह–प्रायोजक द नेक्सट् एजुकेशन कन्सलटेन्सी प्रा.लि. रहेको उनले बताए । प्रतियोगिता आईसीसी सुपर सिक्सेज टुर्नामेन्टको नियमअनुसार सञ्चालन हुने र यसको लागि नेशनल अम्पायरहरुको निर्देशन र उपस्थितिमा हुने उनले जानकारी दिए ।

प्रतियोगिताको विजेता तथा उपविजेतालाई नगद पुरस्कारका साथै प्रत्येक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट ब्याटस्म्यान, बेष्ट बलर, बेष्ट फिल्डर, अनुशासित टीमलाई पुरस्कृत गरिने उनले बताए ।

यस क्षेत्रका कर्पोरेट हाउस र सामाजिक क्षेत्रमा क्रियाशिल युवाहरुबीच आपसी भाइचारा स्थापित गर्दै मजबुत सम्बन्ध विकास गर्नको लागि प्रतियोगिताको आयोजना गर्न लागिएको उनले बताए ।