
शुक्रवार , फाल्गुण २७, २०७८
भैरहवा, २७ फागुन ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तर्गत डिभिजन ‘ए’ को शुक्रबारको खेलमा तिरुपति क्रिकेट क्लबले शंकरनगर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै जित हात पारेको छ ।
टस जितेर व्याटिङ गरेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा २९.४ ओभरमा सबै विकेटको नोक्सानीमा ७८ रनको झिनो योगफल बनाएको थियो । उसका लागि जगतबहादुर क्षेत्रीले १५ र विराट भण्डारीले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा तिरुपतिका रौनक श्रीवास्तवले ४ र अभिषेक गौतमले ३ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको तिरुपतिले १६.४ ओभरमा ४ विकेटको क्षतिमा ७९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा वसिर अहम्मदले नटआउट १८, सुशान्तसिंह थापाले १७ र अजय कौशिल्याले १६ रन जोडे । बलिङमा शंकरनगरका सन्तोष खत्रीले ३ र विशालविक्रम केसीले १ विकेट लिए । रौनक श्रीवास्तव म्यान अफ द म्याच भइ एक हजार दुई सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए ।
चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।
((
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij