
सोमवार , कार्तिक १०, २०७७
काठमाडौं, १० कार्तिक ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा अंक तालिकामा पुछारमा रहेको राजस्थान रोयलले शीर्षस्थानमा रहेको मुम्बई ईन्डियन्सलाई हराउन सफल भएको छ ।
आइतबार राति भएको खेलमा बेन स्टोक्सको शतकीय पारी खेपेर टीमलाई जित दिलाएका थिए । उनको शतकको मद्दतले राजस्थान रोयल्सले आइपिएलमा पाँचौ जित निकालेको हो । दुवईको सेइख जायेद स्टेडियममा आइतबार राति भएको खेलमा स्टोक्सले शतकीय पारी खेल्दा राजस्थानले शीर्ष स्थानको मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गर्दै सिजनको पाँचौ जित निकालेको हो ।
मुम्बईले दिएको १ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य भेट्याएको हो । राजस्थानको जितका लागि स्टोक्स र सन्जु सामसनले १५२ रनको साझेदारी गरे ।
स्टोक्सले ६० बलमा १४ चौका र ३ छक्का प्रहार गर्दै १०३ रनको अविजित शतकीय पारी खेलेका हुन् । त्यस्तै सामसनले ३१ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित ५४ रनको योगदान दिए ।
राजस्थानले पहिलो विकेटको रुपमा रोविन उथप्पालाई १३ रनमा गुमाएको थियो। त्यस्तै दोस्रो विकेटका रुपमा कप्तान स्टिभ स्मिथलाई गुमाएपछि सामसन क्रिजमा आएका थिए, जहाँ सामसन र स्टोक्सले उत्कृष्ट साझेदारी गरे । मुम्बईका लागि दुवै विकेट जेम्स पाटिन्सनलेले दिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मुम्बईले हार्दिक पाण्डेयको अर्धशतकको सहयोगमा १९५ रन जोडेको थियो । पहिलो इनिङ्समा ब्याटिङ गर्दै मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन जोडेको थियो ।
मुम्बईका लागि सुर्यकुमार यादवले ४० रनको योगदान दिए । उनले २६ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४० रन जोडेका हुन् । त्यस्तै ओपनर ब्याट्सम्यान इसान किसनले ३७ रनको योगदाना दिए । उनले ३६ बलमा ४ चौका र एक छक्काको मद्दतमा ३७ रनको पारी खेले । सौरभ तिवारीले ३५ बलमा ४ चौका र एक छक्का ३४ रन जोडे ।
क्निट्न डि कँक र कायरन पोलार्ड समान ६–६ रनमा आउँट हुँदा हार्दिक पाण्डेयले ६० रनको आक्रमक अविजित पारी खेले । उनले २१ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै ६० रनको अविजित पारी खेले ।
त्यस्तै कुर्नाल पाण्डेय ३ रनमा अविजित रहे । राजस्थानका लागि जोफ्रा आर्चर र श्रेयस गोपालले समान दुई–दुई विकेट लिए । कार्तिक ट्यागीले एक विकेट लिए । यस जितसँगै राजस्थानले १२ खेल खेल्दै पाँचमा जित र सात खेलमा हारसहित १० अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ । ११ खेल खेलेको मुम्बई भने १४ अंक जोड्दै रन शीर्ष स्थानमा यथावत छ । (नेपाल लाइभ)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij