२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

भैरहवामा प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुँदै

बुधवार , चैत्र २, २०७८

भैरहवा, २ चैत ।
लेग स्पिनर शेन वार्नको सम्झनामा भैरहवामा प्रो क्लब च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । जोहरा ईन्टरनेशनल प्रा.लि.को आयोजनामा चैत्र २५ देखि वैशाख ३ गतेसम्म भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा क्लबस्तरका क्रिकेट टिम सहभागी हुनेछन् ।

मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा जोहरा ईन्टरनेशनलका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ८ वटा टीमको सहभागिता रहने बताए । उनकाअनुुसार नेपालका टीमको साथै भारत, बांग्लादेश र मलेसियाका पनि क्लबस्तरका टीमहरु सहभागी हुनेछन् । टी–ट्वान्टी फरमेटमा खेलाइने यो प्रतियोगिता काठमाण्डौंमा त्रिदेशीय सिरिज सकिए लगत्तै खेलाइने उनले बताए ।

पूर्व राष्ट्रिय क्रिकेटर समेत रहेका अख्तरले क्लब क्रिकेटलाई जोगाउने उद्देश्यले प्रतियोगिता आयोजना भइरहेको उनले बताए । उनले क्रिकेटको मुख्य आधार क्लब क्रिकेट रहे पछि पछिल्लो केही वर्षदेखि यस्तो प्रतियोगिताहरु हुन नसकिरहेको जनाए । भैरहवामा राम्रो क्रिकेट मैदान, पर्याप्त होटल, अन्तर्राष्ट्रिय विमानस्थल र रुपन्देही क्रिकेट संघको सहयोगले प्रतियोगितालाई भैरहवामै गर्न प्रेरित गरेको उनको भनाइ थियो ।

भैरहवामा यस अघि पनि थुप्रै क्रिकेट क्लबहरु रहेको र प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा पनि सहयोगी हुने आयोजकको भनाइ छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरु सम्मलित भैरहवामा हुने प्रतियोगिताले भैरहवाको क्रिकेटमा आशाको सञ्चार जगाएको रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङले बताए ।