२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रुपन्देही सुपर लिग : बुद्ध १३३ रनले विजयी

आइतवार , चैत्र ६, २०७८

भैरहवा, ६ चैत ।
रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा आइतबार भएको सुपर फोरको दोस्रो खेलमा बुद्ध क्रिकेट क्लबले वेष्टर्न क्रिकेट क्लबलाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गर्दै जीत हात पारेको छ ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ७ विकेटको नोक्सानीमा २ सय ३५ रनको योगफल बनायो । उसका लागि विपिन रावलले ५६, सुरज पौडेलले २८, विपिन खत्रीले २७ र सुवाष भण्डारीले २६ रनको योगदान दिए । बलिङमा वेष्टर्नका प्रतिष जिसीले ३ र नरेन साउदले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको वेष्टर्नले २५.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय २ रन मात्र बनायो । उसका लागि अनिल शाहले २६, विक्रक भुसालले १९ र शौरभ खनालले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा लक्ष्य भेट्टाउन सकेन । उसलाई सस्तैमा रोक्न बलिङमा बुद्धका विपिन खत्री र अमित अग्रहरीले ३–३ तथा रुपेश कुर्मी र सुवाष भण्डारीले समान २–२ विकेट लिए । विपिन खत्री म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।