सोमवार , चैत्र ७, २०७८
काठमाडौँ, ७ चैत। भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दैछ।
नेपाल र भारतबीचको खेल भारतको जमसेदपुरमा बेलुका ७ः१५ बजे सुरु हुनेछ। आज भारतलाई पराजित गर्दै नेपाल पहिलो जीतको खोजीमा हुनेछ। तर उपाधि दाबेदार भारतविरुद्ध जीत निकाल्न नेपाललाई त्यति सहज भने छैन।
डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनशिपको पहिलो भेटमा भारतले नेपाललाई ७–० गोलअन्तरले पराजित गरेको थियो। नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको उक्त च्याम्पियनशिपमा नेपालले अङ्क जोड्न सकेको छैन। दुई खेलमा अङ्कविहीन रहेको नेपाल अङ्क तालिकाको अन्तिम स्थानमा छ। नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ४–२ गोलअन्तरले पराजित भएको थियो।
त्यस्तै यसअघि दुई खेल खेलेको भारतले दुवै खेलमा जीत हात पार्दै ६ अङ्क जोडेको छ। भारत अङ्क तालिकाको शीर्षस्थानमा रहेको छ। समान दुई खेल नै खेलेको बङ्गलादेशको ३ अङ्क छ। बङ्गलादेश दोस्रो स्थानमा छ । च्याम्पियनशिपमा शीर्षस्थान हासिल गर्ने टोलीले उपाधि जित्नेछ। रासस
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
