
मंगलवार , चैत्र ८, २०७८
बुटवल, ८ चैत ।
बुटवलमा सोमबारदेखि १६ औं मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै खेलमार्फत युवालाई प्लेटफर्म दिने लक्ष्य रहेको बताए । कार्यक्रममा समाजसेवी तथा नेता गोपाल राना, नेकपा (एमाले) रुपन्देही जिल्ला सदस्य यम पाण्डे, वडा नम्बर ११ का वडा सदस्य नहकुल शाही, संघका उपाध्यक्ष जुनु अर्यालले नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा प्रतियोगिता आयोजना सम्मानको प्रतीक भएको बताए ।
सिद्धेश्वर खेलमैदानमा भएको उद्घाटन खेलमा वडा नम्बर ११ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । वडा नम्बर १४ लाई ३–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ११ विजयी भएको हो । वडा नम्बर ११ को जितमा रंजित, बसन्त सुनार र सुरज मल्लले गोल गरे । खेलमा वडा नम्बर ११ का रन्जित थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए ।
त्यसै गरी विधागत रुपमा समेत खेलाडीहरुलाई पुरस्कृत गरिने छ । कोरोना संक्रमणबाट हरेक क्षेत्र प्रभावित भएसंगै खेल क्षेत्र पनि शून्य रहेको उनले बताए । नियमित प्रतियोगिता समेत ३ वर्षको अन्तरालमा आयोजना गर्न लागिएको उनले बताए । मंगलबारदेखि दैनिक दुई खेलहरु सञ्चालन हुने प्रचारप्रसार संयोजक गणेश बोहराले बताए । बिहान पहिलो खेल वडा नम्बर १ र ४ तथा दिउँसो दोस्रो खेल वडा नम्बर १६ र २ का बीच हुने उनले बताए । प्रतियोगितामा बुटवल उपमहानगरका १९ वटै वडाले भाग लिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij