
बिहिवार , श्रावण ८, २०७७
भैरहवा, ८ साउन ।
रुपन्देहीको सियारी गाउँपालिकाले नियमित कक्षाकोठामा उपस्थित हुने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरेको छ । वार्षिक कार्यक्रम अनुसार गाउँपालिकाभित्र रहेका सनमुदायिक विद्यालयका विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।
कक्षा ३, ५ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको हो । सबैभन्दा बढी विद्यालयको कक्षाकोठामा हाजिर हुने विद्यार्थीलाई प्रथम, द्वितीय र तृतीय गरी पुरस्कार वितरण गरिएको छ । जसमा कक्षा ३ मा सबैभन्दा बढी हाजिर हुने प्रथमलाई रु. ६ हजार, द्वितीयलाई रु. ५ हजार र तृतीयलाई ३ हजार ५ सय रुपैयाँ नगद प्रदान गरिएको छ ।
त्यस्तै कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुलाई क्रमशः ७ हजार, ५ हजार ५ सय, ४ हजार र कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुलाई क्रमशः ८ हजार, ६ हजार, र ५ हजार रुपैयाँ रकम पुरस्कार स्वरुप प्रदान गरिएको शिक्षा शाखा प्रमुख सुधीर पौडेलले बताए ।
विद्यार्थीहरुलाई नियमित कक्षा कोठामा उपस्थित गराउन मद्दत पुग्ने तथा शैक्षिक गुणस्तर सुधारमा पनि सहयोग पुग्ने भएकोले विद्यार्थीहरुलाई प्रोत्सहन स्वरुप नगद पुरस्कार वितरण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए ।
त्यस्तै गाउँपालिकाभित्र रहेका धार्मिक, बालविकास केन्द्र, सामुदायिक बालविकास केन्द्र र विद्यालयमा रहेका बालविकास केन्द्रहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । बालबालिकाहरुको सिकाइलाई प्रभावकारी बनाउन सो सामाग्री बुधबार वितरण गरिएको हो ।
गत आर्थिक वर्ष ०७६/७७ मा मुख्यमन्त्री ग्रमीण विकास कार्यक्रम अन्तर्गत प्रदेश सरकारबाट प्राप्त भएको रु. ५ लाख रकम बराबरको सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए । यस अघि लकडाउनका कारण सो समाग्री वितरण गर्न बाँकी रहेको र लकडाउन खुलेसंगै भएसंगै सो सामाग्री वितरण गरिएको उनले बताए ।
विद्यालयको शैक्षिक गुणस्तरका लागि गाउँपालिकाले विभिन्न समयमा आर्थिक, भौतिक तथा अन्य सहयोग विभिन्न समयमा गरिरहेको उनको भनाई छ ।
बालबालिकाहरुको स्वास्थ्यका लागि जनप्रतिनिधि आइसकेपछि कुपोषणको दर घटाउन गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण तथा आवश्यक पौष्टिक आहार र औषधी निःशुल्क रुपमा वितरण गरिएको समेत उनले बताए ।
उचित वातावरणसंगै विद्यार्थी, अभिभावक, शिक्षक, व्यवस्थापन समिति र गाउँपालिका सबै मिलेर शिक्षाको गुणस्तर सुधारका लागि एक हुनुपर्ने सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङको भनाइ छ । सैद्धान्तिक तथा व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्दै गाउँपालिकाले विभिन्न कार्य गरिरहेको समेत उनले जानकारी दिइन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराई, लेखा अधिकृत नारायण पौडेल, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij