
शनिवार , कार्तिक १५, २०७७
सैनामैना, १५ कार्तिक ।
मुलुकमा बढ्दै गएको यौन हिंसा र बलात्कारका घटनाको विरुद्धमा रुपन्देहीका युवतीहरुले कालो पोशाक, कालो माक्स, निधार र हातमा कालो पट्टी बाधेर सडकमा विरोधस्वरुप मौन प्रदर्शन गरेका छन् ।
‘अब त अत्ति भयो आउनुहोस सबै मिली बलात्कार र बलात्कारी सोचविरुद्ध आवाज उठाउ’ भन्ने मुल नाराका साथ रुपन्देहीको सैनामैनामा महिला हिंसाविरुद्ध मौन प्रदर्शन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् ।
सैनामैना जेसिजको आयोजनामा मुर्गिया चोकमा सैनामैनाका युवतीहरुले कालो पोशाक लगाएर बलात्कार, यौन हिंसा, लगायतका घटनालाई मध्यनजर गर्दै मौन विरोध गरेका थिए ।
सडकमा उभिएर करिब १ घण्टा सबै प्रकारका हिंसाविरुद्ध युवायुवतीहरुले कालो पोशाक, कालो माक्स, निधार र हातमा कालोपट्टी बाधेर स्वतःस्र्फुत रुपमा विरोध स्वरुप शान्तिपुर्ण मौन प्रदर्शन गरेका हुन् ।
हिंसाविरुद्ध मौन प्रदर्शनमा सहभागिहरुले दुईतिहाईको सरकारको नाकै मुनी बलात्कारीलाई उन्मुक्ति ?, बलात्कारपछि मारिएका आत्मालाई न्याय दिने कसले ? पहिला सुरक्षा अनि सुविधा, स्टप रेप, अत्ति भयो, अझै कति सहने, व्यक्तिलाई के दोष दिन्छौं, यहाँ असली बलात्कारी त कानुन हो, तिमी कपडाको कुरा गर्छौ, आफ्नो सोचलाई कहिले फेर्छौ, सहमति बिनाको यौन सम्पर्क स्वीकार छैन । यी र यस्तै लेखेका प्लेकार्डहरु बोकेर प्रदर्शनमा युवा तथा युवतीको सहभागिता रहेको थियो । सैनामैनाका युवतीहरुद्धारा यो दोस्रो चरणको मौन प्रदर्शन रहेको जनाइएको छ ।
उनीहरुले देशमा बलात्कारका घटनाहरु बढिरहेकाले आफूहरु सुरक्षित नभएको महसुस भएको बताउँदै सरकारले बलात्कार सम्बन्धि कडा कानून बनाउन र कार्यान्वयन गर्न पनि माग गरेका छन् । अभियानको नेतृत्व गरिरहेकी प्रियंका भण्डारीले बलात्कार गर्नेलाई सरकारले कडा सजाय दिनुपर्ने बताइन् । उनले सबै प्रकारका हिंसाको उन्मुक्तिका लागि सरकारलाई दबाब दिनका लागि मौन प्रर्दशन कार्यक्रम गरिएको जनाउँदै आगामी दिनमा पनि यसरी नै अगाडि बढ्ने धारणा राखिन् ।
मुर्गिया लुम्बिनी रोड अगाडि करिब ३५ जना युवतीहरुको सहभागितामा भएको विरोध प्रर्दशनमा सैनामैना जेसीजले पनि सहकार्य गरेको थियो । त्यस्तै मौन प्रर्दशनमा युवाहरुले युवतीहरुलाई साथ दिएका थिए । युवतीहरुले यस अघि कार्तिक १ गते पनि इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गिया अगाडि पहिलो चरणको मौन प्रर्दशन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij