२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रुपन्देही सुपर लिगको उपाधि एमसीसीलाई

शनिवार , चैत्र १२, २०७८

भैरहवा, १२ चैत्र  ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधि मेलवर्न क्रिकेट क्लब (एमसीसी)ले हात पारेको छ । शनिबार भएको फाइनलमा बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै एमसीसी उपाधि जित्न सफल भएको हो । योसँगै सुपर लिगको साढे दुईदशकको इतिहासमा एमसीसीले चारपटक उपाधि जितेको छ ।

उपाधिसँगै एमसीसीले नगद ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको बुद्धले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ११.५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा २८ रन मात्रै बनाएको थियो । उसका लागि अजय त्रिपाठीले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न एमसीसीका रमेश कुर्मीले ५.५ ओभर बलिङ गर्दै ३ मेर्डन राखेर ७ रन खर्ची ६ विकेट लिए । यस्तै, सन्तोष यादवले ३ तथा शिवकुमार मौर्यले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको एमसीसीले ७ ओभरमा एक विकेटको नोक्सानीमा २९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुशान्त थापाले नटआउट १५ र विजय प्रजापतीले नटआउट ८ रन जोडे । बलिङमा बुद्धका विपिन खत्रीले एक विकेट लिए । एमसीसीका रमेश कुर्मी म्यान अफ द फाइनल भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा एमसीसीका रोशनलाल गुप्ता म्यान अफ द सिरिज र बेष्ट बलर घोषित भए । उनले क्रमशः १५ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै, एमसीसीकै विजय प्रजापती बेष्ट ब्याट्सम्यान र उदयीमान खेलाडी घोषित भए । उनले क्रमशः ५–५ हजार रुपैयाँ प्राप्त गरे । विजयी टिमलाई सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, नेपाल टेलिकमका उपमहाप्रबन्धक झविन्द्रलाल उपाध्याय, भीम अस्पताल विकास समिति अध्यक्ष कुलप्रसाद न्यौपाने, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा लगायतले पुरस्कार प्रदान गरेका थिए ।