
आइतवार , चैत्र १३, २०७८
बुटवल, १३ चैत ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देहीको आयोजनामा सोमबारदेखि जिल्लास्तरीय अन्तर कलेज भलिबल प्रतियोगिता हुने भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष रामनाथ ढकालको स्मृतिमा आयोजित प्रतियोगितामा २१ समुहको सहभागिता रहेको छ ।
चैत १४ गतेदेखि १७ गतेसम्म ४ दिन हुने प्रतियोगिताको विजेताले नगद ३३ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरी उपविजेताले नगद २० हजार तथा तृतीय हुने समुहले ११ हजार नगद राशीसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अनेरास्ववियु केन्द्रीय सदस्य नवीन रानाले जानकारी दिए ।
प्रतियोगिताबारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालले राजनीतिक आन्दोलन तथा परिवर्तनका अभियानहरुका साथै अन्य रचनात्मक क्रियाकलापहरुमा समेत अनेरास्ववियु भूमिका अहम रहने उल्लेख गरिन् । उपाध्यक्ष यमराज पाण्डेयले खेल गतिविधिबाट युवाहरुलाई एकतावद्ध गर्न प्रतियोगिताले सहयोग गर्ने अपेक्षा व्यक्त गरे । युवा विद्यार्थीहरु विभिन्न राजनीतिक आन्दोलनहरुमा मात्रै नभई खेल तथा अन्य गतिविधिहरुमा समेत सशक्त छन् भन्ने सन्देश प्रतियोगिताले दिने बाताए ।
त्यसै गरी नेकपा एमाले जिल्ला कमिटी सदस्य बसन्त ढकाल, अनेरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारी, प्रेस चौतारी नेपाल रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल, अनेरास्ववियु रुपन्देही अध्यक्ष शेसकान्त पोखरेल लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
बुटवल बहुमुखी क्याम्पसको मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी वाणिज्य क्याम्पस र हरैया बहुमूखी क्याम्पसबीच उद्घाटन खेल हुनेछ । प्रतियोगिताको एमाले केन्द्रीय सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको पूर्व सन्ध्यामा आइतबार भएको आयोजक अनेरास्ववियु र प्रेस चौतारी नेपाल रुपन्देहीबीच भएको मैत्रीपूर्ण खेलमा प्रेस चौतारीले जित दर्ता गरेको छ । वेस्टअव फाइफको आधारमा भएको प्रतियोगितामा प्रेस चौतारीमा ३–शुन्यको सोझो सेटमा जितेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij