२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीमा बुद्धिष्ट हस्पिटल सञ्चालनका लागि प्रारम्भिक छलफल

बुधवार , कार्तिक १९, २०७७

भैरहवा, १९ कार्तिक ।
लुम्बिनीमा आउने पर्यटक, लुम्बिनी क्षेत्रमा बसोबास गर्ने बौद्ध भिक्षु भिक्षुणी र स्थानीयलाई सेवा दिने उद्धेश्यले महाकरुणा बुद्धिष्ट हस्पिटल सञ्चालन गर्ने गरी प्रारम्भिक छलफल भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराइले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अस्पताल सञ्चालन गर्ने गरी योजना अगाडी सारिएको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.हृदयरत्न बज्राचार्यले लुम्बिनी विकास कोषसंगको सहकार्यमा स्तरीय अस्पताल सञ्चालनको लागि छलफल भएको बताए । 

अस्पतालको सम्बन्धमा अवधारणा पेश गर्दै कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले ‘जसले बिरामीको सेवा गर्छ, त्यसले मेरो सेवा गरेको हुन्छ’ भन्ने बुद्धवचनलाई अंगीकार गर्दै लुम्बिनीमा अवस्थित अन्तर्राष्ट्रिय बौद्ध विहार र ध्यान केन्द्रमा बसोबास गर्ने भिक्षु तथा गुरुमाहरु, तथा लुम्बिनी प्रदेशका जिल्लाहरु रुपन्देही, कपिलवस्तु, नवलपरासी क्षेत्रमा बसोबास गर्ने बासिन्दा र स्वदेशी तथा विदेशी पर्यटक गरी करिब १६ लाख भन्दा बढी मानिसहरुलाई सेवा दिने गरी अस्पताल सञ्चालन गरिने बताए ।

गर्भवती, सुत्केरी, महिला तथा बालबालिकाहरुको लागि विशेष केन्द्रमा राखि अस्पताल सञ्चालन गरिने गरी छलफल भएको हो । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले भने, ‘लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहकार्यमा लुम्बिनीमा बुद्धिस्ट हस्पिटल सञ्चालन गर्ने गरी प्रारम्भिक छलफल भएको छ । ’

छलफलमा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्य, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमनि शाक्य, लुम्बिनी प्रादेशिक अस्पतालका डा. सागर न्यौपाने, विकास कोषका योजना प्रमुख सरोज भट्टराई, लुम्बिनीका स्थानीय चिकित्सक शंकर गौतम लगायतले लुम्बिनीमा स्तरीय अस्पताल सञ्चालन सम्बन्धमा प्रस्तुत अवधारणामाथि आफ्नो सुझाव पेश गरेका थिए ।

प्राध्यापक केन्जो टांगेको गुरुयोजनामा पनि अस्पताल सञ्चालन गर्ने योजना समावेश रहेको छ । बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा ११५५ बिगाह जग्गा दिएका स्थानीयको सुविधाको लागि पनि अस्पताल उपलब्धीमूलक हुने देखिएको छ ।