
हरेक प्रदेशमा इञ्चार्ज र सह–इञ्चार्ज, हरेक खेलविधाका प्रमुख
सोमवार , चैत्र २८, २०७८
पोखरा, २८ चैत ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको केन्द्रिय कमिटिको दोस्रो पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ । पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सचिव पद्मा अर्यालको प्रमुख आतिथ्यतामा आइतबार बैठक बसेको हो ।
बैठक उद्घाटन गर्दै सचिव अर्यालले खेल सुधारका लागि खेलाडीहरु राजनीतिमा जोडिनुपर्ने बताइन् । खेलमार्फत स्वास्थ्य, मनोरञ्जन र निरोगिताका लागि खेलकुदलाई सबै नागरिकबीच पुर्याउनुपर्ने उनले बताइन् । उनले खेल संरचना विकास, तालिम तथा प्रतियोगितालाई स्थानीय तहसम्म पुर्याउन निर्देशन समेत दिइन् ।
बैठक उद्घाटनमा बोल्दै संस्थाका निवर्तमान उपाध्यक्ष एवं सल्लाहकार मोहन रेग्मी, दीपक ज्ञवाली, उपाध्यक्ष राजेश गुरुङ लगायतले एकेडेमीको विस्तार र खेलकुदलाई जनस्तरसम्म लैजानेबारे सुझाव दिएका थिए ।
अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा बसेको बैठकले ६ वटा प्रदेशमा इञ्चार्ज तथा सह–इञ्चार्जको जिम्मेवारी तोकेको छ । प्रदेश १ मा इञ्चार्ज एकेडेमीका उपाध्यक्ष तुल्सी मैनाली र सह–इञ्चार्जमा उपमहासचिव मदन उप्रेती, मधेश प्रदेशमा इञ्चार्ज उपाध्यक्ष शशीकुमार शर्मा र सह–इञ्चार्जमा सचिव अन्जना शिवाकोटी, बाग्मती प्रदेशमा इञ्चार्ज उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र सह–इञ्चार्जमा सचिव मन्दिरा श्रेष्ठ, गण्डकी प्रदेशमा इञ्चार्ज उपाध्यक्ष राजेश गुरुङ र सह–इञ्चार्जमा सचिवालय सदस्य कृष्ण तिमिल्सिना, लुम्बिनी प्रदेशमा इञ्चार्ज सचिव सुजु मल्ल र सह–इञ्चार्जमा सचिवालय सदस्य महेन्द्र लिंगल एवं कर्णाली प्रदेशमा इञ्चार्ज उपाध्यक्ष तेजविक्रम बस्नेत र सह–इञ्चार्जमा सदस्य गोपाल बहादुर शाही चयन भएका छन् ।
त्यस्तै बैठकले विभिन्न खेल तथा सञ्चालन विभाग प्रमुख चयन गरेको छ । जसमा तालिम तथा प्रशिक्षण विभाग प्रमुखमा अध्यक्ष ध्रुव आचार्य, खेल प्रतियोगिता प्रमुखमा उपमहासचिव सुवर्ण श्रेष्ठ, प्रचार विभाग प्रमुखमा अमृता अनमोल, आर्थिक विभाग प्रमुख देवबहादुर कुंवर, स्वास्थ्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख डा. शक्ति बस्नेत र कार्यालय सचिव विनोद आचार्य चयन भएका छन् ।
खेलतर्फ क्रिकेट विभाग प्रमुखमा शक्ति गौचन, मार्सलआर्टमा सन्जु महर्जन, एथलेटिक्समा इन्द्र मल्ल, भलिबलमा युवराज श्रेष्ठ, फुटबलमा सुन्दर थापा, टेबल टेनिसमा महेन्द्र लिंगल, चेसमा विजय गुरुङ, शारीरिक सुगठनमा राजकुमार श्रेष्ठ, बास्केट बलमा बिंकु महर्जन प्रमुख र उपप्रमुखमा सदिना श्रेष्ठ चयन भएका छन् ।
‘सबैका लागि खेलकुद’ भन्ने मूल नारासहित निरोगी नेपालको परिकल्पना गरेको एकेडेमीले खेलकुदका सबै विधालाई यसवर्ष हरेक स्थानीय तहबाट प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । साथै नयाँ पुस्तालाई खेलप्रति आकर्षित गर्न तथा खेलाडीहरुलाई व्यवसायिक बनाउन विभिन्न स्तरका खेल तालिम सञ्चालन गर्ने एवं संगठन विस्तारलाई सबै स्थानीय तहमा पुर्याउने निर्णय गरेको छ ।
त्यस्तै एकेडेमीको जग्गा व्यवस्थापन तथा भवन निर्माणका लागि अध्यक्ष र महासचिवको नेतृत्वमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको अध्यक्ष आचार्यले बताए । जेठ ३ गते परेको मदन भण्डारी स्मृति दिवसको अवसरमा देशभर रचनात्मक गतिविधि गर्ने समेत निर्णय भएको छ । बैठकको सञ्चालन महासचिव पुरेन्द्र विक्रम लाखे र उपमहासचिव सुवर्ण श्रेष्ठले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij