
बुधवार , कार्तिक १९, २०७७
बुटवल, १९ कार्तिक ।
रगतको मौज्दात कम भएपछि बुटवलमा आकस्मिक रुपमा रक्तदान कार्यक्रम गरिएको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रगतको मौज्दात कम भएपछि नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले बुधबार आकस्मिक रुपमा रक्तदान कार्यक्रम गरेको हो ।
रगतको अभाव हुन नदिनको लागि आकस्मिक रुपमा रक्त सञ्चार सेवा केन्द्रमै कार्यक्रम गरिएको र ७ जना प्लाज्मासहित ५० जनाले आकस्मिक रक्तदान गरेको समाज रुपन्देहीका कार्यसमिति सदस्य आकाश पन्थले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड–१९)को महामारी र यही बस्चमा परेका चाडपर्वका कारण यो समयमा नियमित रुपमा रक्तदान कार्यक्रमहरु हुन सकेका छैनन् । जसका कारण रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) बुटवलमा रगतको मौज्दात कम भएको रक्त सञ्चार सेवा केन्द्र बुटवलले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाले सञ्चालन गरेको बुटवलको रक्त सञ्चार सेवा केन्द्रमा सरदर ५ सय युनिट रगत मौज्दात रहने गर्दथ्यो । रक्त सञ्चार सेवा केन्द्र बुटवलकी प्राविधिक राधा ज्ञवालीका अनुसार त्यस्तै दैनिक पनि सरदर सय युनिट रगत संकलन भइ नै रहन्थ्यो । तर अहिले कोरोना भाइरस महामारी र यसैबीचमा परेका चाडपर्वका कारण रक्तदानका कार्यक्रम पनि नियमित रुपमा हुन सकेका छैनन् ।
एकातिर रगतको मौज्दात कम छ, त्यसमा पनि ‘ए’ पोजिटिभ र ‘एबी’ पोजिटिभ समुहको रगतको मौज्दात एकदमै कम रहेको ज्ञवालीले जानकारी दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij