२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा लोक पुन सर्वसम्मत

आइतवार , बैशाख ४, २०७९

बुटवल, ४ वैशाख ।
रुपन्देही जिल्ला फुटबल संघको साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । एन्फा टेक्निकल सेन्टर देवीनगरमा भएको अधिवेशनले लोक पुनको नेतृत्वमा १५ सदस्यसिय नयाँ पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा सुधिर थापा, मुकेश कुवर, बुद्घि बहादुर गुरुङ, सदस्यमा दिपेश गुरुङ, संजय कार्की प्रेम राना, दिपक गुरुङ, सोम बहादुर विक, वसन्त श्रेष्ठ, मनमोहनलाल गुभाजु, शंकर मल्लाह, ललित तिरुवा, पदम थापा र महिला सदस्यमा मोतिकला गुरुङ सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृत सुमन अधिकारीले बताए ।

यसैबीच रुपन्देही खेलकुद विकास समितिका पूर्वअध्यक्ष योग गुरुङले कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही जिल्ला सबैखाले खेलमा उवरभूमि भएको दावी गरे । प्राविधिक समस्याहरुका कारण देखिएको समस्याहरुलाई हटाउँदै रुपन्देही एकढिक्का भएर लाग्नुपर्ने उनले सुझाव दिए । 

संघका अध्यक्ष दीर्घ बहादुर केसीले संस्थामा लामोसमय बस्दा संस्था भन्दा पनि व्यक्ति विकासमा बढी जोड दिदा यसको प्रभाव लामो समयसम्म पर्ने वास्तविकता देखिएको बताए । कमीकमजोरीहरुलाई हटाउँदै जिल्लाका सबै क्लबहरुलाई समेटेर नयाँ नेतृत्व सर्वसम्मत गर्न सफल भएको भन्दै मिलेर अघि बढ्नुपर्ने उनले बताए । 

कार्यक्रममा खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले कोभिड–१९ को कारण दुई वर्ष बढी समय विश्व प्रभावित भएको दुखेसो गरे । खेल क्षेत्र र खेलाडीको विकासलाई नयाँ आयामका साथ अघि बढ्न सकिने उनले बताए । 

कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य हरि श्रेष्ठले रुपन्देही जिल्ला संरचनात्मक रुपमा सम्पन्नशाली हुँदाहुँदा पनि खेलाडी विकासमा पछि परेको दुखेसो गरे । जिल्लाका सबै क्लबहरु मिलेर खेल विकासमा नमूना काम गर्न जरुरी रहेको उनले बताए । केन्द्रबाट रुपन्देही जिल्लाप्रतिको दृष्टिकोण  सकारात्मक रहेकाले पनि यसलाई सदुपयोग गर्दै नयाँ र रचनात्मक कार्यक्रमहरु बनाउन उनले सुझाव दिए । 

कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य लिग कमिटीका डाईरेक्टर संजय मिश्रा, बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य रंजित शेरचन, लन टेनिस संघ रुपन्देहीका सचिव गोपाल ज्ञवाली, उपाध्यक्ष अर्जुन गुरुङ, भुपेन्द्र बहादुर क्षेत्री, संघका उपाध्यक्ष मुकेश कुंवर, महासचिव लोक पुनले थप जिम्मेवारीका साथ पदाधिकारीहरु अघि बढ्न सुझाव दिए ।