
मंगलवार , बैशाख ६, २०७९
भैरहवा, ६ वैशाख ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) जिल्ला समन्वय समिति रुपन्देहीले आवश्यकता अनुसार गठबन्धनबाहिरका दलसँग पनि सहकार्य हुन सक्ने बताएको छ । स्थानीय तहका नेता कार्यकर्ताको चाहना र आवश्यकता अनुसार निर्वाचनमा पाँचदलीय गठबन्धनबाहिरका दलसँग पनि सहकार्य गरेर अगाडी बढ्न सकिने जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादवले बताए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा जसपाले जितेको र पाएको मतपरिणाम अनुसार नेपाली कांग्रेसले सो स्थानमा जसपालाई दिन नमानेकाले केही पालिकामा एक्लाएक्लै प्रतिष्पर्धा गर्ने यादवले जानकारी दिए । उनले भने, ‘आवश्यकता अनुसार पाँचदलीय गठबन्धनबाट साझा उम्मेदवार चयन हुन्छ, नभए एक्लाएक्लै मैत्रीपूर्ण प्रतिष्पर्धा गर्छौं ।’
जसपा रुपन्देहीको पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीय परिषद सदस्य, प्रदेश सदस्यको सहभागितामा मंगलबार भैरहवामा भएको बैठकले स्थानीय तहको निर्वाचनका लागि भोलि (बुधबार) सांझसम्म उम्मेदवार सिफारिस गरी पठाउनुपर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिले आवश्यक निर्णय गरेर सर्वसम्मत हुन नसकेको पालिका/वडाको उम्मेदवारका लागि वैशाख ९ गते प्रदेश समितिमा पठाउने जसपा रुपन्देहीका अध्यक्ष यादवले जानकारी दिए ।
जसपा लुम्बिनीका प्रदेश समिति सदस्य उज्जवल पोखरेलले आवश्यकता अनुसार जुन दलसँग पनि पार्टीले गठबन्धन गरेर निर्वाचनमा सहभागि हुन सक्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij