२०८३, कार्तिक ३ गते

Oct 20 2026 | २०८३, कार्तिक ३ गते

बडादशैंको रौनक : पाल्ही भगवती मन्दिरमा भक्तजनको घुइँचो

मंगलवार , कार्तिक ३, २०८३

  • 184
    Shares
  • 184
    Shares
  • पश्चिम नवलपरासी, ३ कार्तिक । बडादशैंको अवसरमा पश्चिम नवलपरासीको प्रसिद्ध एवं धार्मिक शक्तिपीठ पाल्ही भगवती मन्दिरमा दर्शनार्थी तथा भक्तजनहरूको भव्य घुइँचो लागेको छ । मन्दिर परिसरमा पूजाअर्चना र दर्शनका लागि बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लाग्ने गरेको छ ।

    पाल्हीनन्दन गाउँपालिका–४ मा रहेको यो ऐतिहासिक मन्दिरमा दशैंका अवसरमा विशेष पूजाआजा हुने गर्दछ । विशेष गरी पश्चिम नवलपरासीका साथै छिमेकी जिल्लाहरू रूपन्देही, कपिलवस्तु र सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा भक्तजनहरू दर्शन तथा मनोकांक्षा पूरा गर्न मन्दिर पुग्ने गरेका छन् ।

    ऐतिहासिक तथा धार्मिक पृष्ठभूमि

    इतिहास अनुसार पाल राजवंशको शासनकालमा कोट (किल्ला) का रूपमा स्थापित भएकाले यस मन्दिरलाई ‘पाल्ही कोटकी काली भगवती’ भनिन थालिएको हो । वि.सं. २०१८ भन्दा अघि यो क्षेत्रलाई ‘पाल्ही माझखण्ड’ भनेर चिनिन्थ्यो । साविक नवलपरासी जिल्ला र साविक परासी क्षेत्रको नामाकरणमा समेत यही ऐतिहासिक पाल्ही भगवतीको विशेष योगदान रहेको मानिन्छ । मन्दिरको नियमित सञ्चालनका लागि वि.सं. १९०० मा इन्द्र सुब्बाले गुठीको व्यवस्थापन गरिदिएको अभिलेख पाइन्छ ।

    मन्दिरमा स्थापित देवी काली (भगवती) को स्वरूप शान्त र ज्ञानदायिनी रहेको छ । बायाँ हातमा खड्ग बोकेकी देवीको मूर्तिलाई विशेष श्रृंगार गरी पूजाअर्चना गरिन्छ । पौराणिक मान्यता अनुसार तान्त्रिक र वैदिक दुवै विधिबाट पूजा गरिने यस शक्तिपीठमा सच्चा मनले भाकल गरेमा सन्तान प्राप्ति हुने, चिताएको पुग्ने र संकटबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ ।

    करिब साढे एक बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा मुख्य काली मन्दिरका साथै शिव, हनुमान, चामुण्डा देवीलगायतका अन्य देव–देवताका साना मन्दिरहरू समेत रहेका छन् । बडादशैंका अवसरमा मन्दिर व्यवस्थापन समितिले भक्तजनहरूको सहज दर्शनका लागि सुरक्षा, खानेपानी र शान्ति–सुरक्षाको विशेष प्रबन्ध मिलाएको छ ।