२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

जनताका अधिकार सशक्त बनाउन निर्वाचन महत्वपूर्ण हुन्छ : गृहमन्त्री खाँण

बुधवार , बैशाख ७, २०७९

रुपन्देही, ७ वैशाख ।
गृहमन्त्री बालकृष्ण खाँण जनताका अधिकार सशक्त बनाउन स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको बताएका छन् । गृह जिल्ला रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आज आयोजित पत्रकार भेटघाटमा उनले जनताको नजिकको सरकार भएकाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्नतर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गरे ।

“शान्तपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको समुचित प्रबन्ध गरेको छौँ, आवश्यक परे हवाइगस्ती गर्छौं”, उनले भने । गृहमन्त्री खाँणले पहिले स्थानीय तहको निर्वाचन विभिन्न चरण हुने गरे पनि अहिले एकैपटकमा एकैदिन गर्न लागिएकाले सुरक्षा चुनौती हुन सक्ने भएकाले सुरक्षा निकायसँगको समन्वयमा उचित प्रबन्ध गरिएको बताए । 

राजनीतिक नेपाल कम्युनिष्ट पार्टी लगायतका अन्य केही दलले निर्वाचनमा पहिलो पटक भग लिने बताउँदै उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गरे । नेपाली कांग्रेसका नेता खाँणले आसन्न निर्वाचनमा गठबन्धन दलको निर्णय नमान्नेलाई कारबाही गरिनेसमेत बताए । निर्वाचनमा गठबन्धन दलबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लंघन गर्ने छुट कसैलाई नभएको उनको भनाइ छ ।

“अहिले गठबन्धन हुन्छ हुँदैन भन्ने सवाल महत्वपूर्ण होइन, कतिपय ठाउँमा गठबन्धन होला कतिपयमा स्थानमा छुट्टाछुट्टै हुन सक्ला तर केन्द्रले जे निर्णय गर्छ, त्यसको पालना गर्नुपर्छ”, उनले भने । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा सर्वोच्चले गरेको फैसलाबारे पत्रकारले राखेको जिज्ञासाबारे गृहमन्त्री खाँणले न्यायालयको निर्णयको सम्मान गर्ने बताए ।

चैत २५ गतेदेखि निलम्वनमा परेका अधिकारीलाई मंगलबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनु’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । रासस