
बुधवार , बैशाख ७, २०७९
भैरहवा, ७ वैशाख ।
उमेश थापा ‘लाटोमगर’ द्वारा लिखित ‘म यसरी भएँ लाटोमगर’ पुस्तकको विमोचन तथा परिचर्चा कार्यक्रम मंगलबार भैरहवामा सम्पन्न भएको छ । नवप्रतिभा साहित्यिक परिवार सिद्धार्थनगरको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. कपिलदेव लामिछानेले उमेश थापाको प्रयास राम्रो भएको बताए । उनले साहित्यिक कृतिहरुले मानिसलाई अमर बनाउने भएकाले लेखन कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
लेखक उमेश थापा ‘लाटोमगर’ ले ‘म यसरी भएँ लाटोमगर’ विभिन्न पत्रपत्रिकामा प्रकाशित केही नयाँ लेखहरुको सङ्ग्रह भएको बताए ।
कार्यक्रममा गजलकार प्राज्ञ बुद राना, सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई, साहित्यकार विजय सागर, भैरहवा मर्निङवाक गु्रपका अध्यक्ष ओमकार गौचन, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष अध्यक्ष भीष्म प्रसाद न्यौपाने लगायतले बोलेका थिए ।
लेखक उमेश थापाको अध्यक्षता, साहित्यकार सीता काफ्लेको स्वागत तथा पत्रकार अरुण ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आख्यानकार वनमाली निराकार र साहित्यकार रुद्र ज्ञवालीले पुस्तकको बारेमा समीक्षा गरेका थिए ।
लेखक उमेश थापा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य तथा नगरपालिकाका न्यायीक समिति सदस्य हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij