२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

निर्वाचन आचारसंहिता पालनामा कडाइ गर्नुपर्नेमा जोड

बिहिवार , बैशाख ८, २०७९

बुटवल, ८ वैशाख ।
आचारसंहिता पूर्ण पालना भए निर्वाचन कम खर्चिलो र शान्तिपूर्ण रुपमा सम्पन्न हुने भन्दै सरोकारवालाहरुले आचारसंहिता पालनामा कडाइ गर्नुपर्नेमा जोड दिएका छन् । संवाद समूह लुम्बिनीले बुधबार बुटवलमा आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयन विषयक संवाद कार्यक्रममा बोल्दै उनीहरुले आचारसंहिता पालना गराउने निकाय निर्वाचन आयोगले कडाइ गर्नुपर्नेमा जोड दिएका हुन् ।

पछिल्लो समय निर्वाचन महंगो भएकोले इमान्दार र लामो समय राजनीति गरेका व्यक्तिहरु निर्वाचन लड्न सक्ने परिस्थिति नभएको भन्दै उनीहरुले निर्वाचन आचारसंहिता पालनामा कडाइ गर्न सके कम खर्चमै चुनाव लड्न सकिने विचार ब्यक्त गरे ।
कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनले विगतका दिनमा आचारसंहिता उल्लंघन गर्नेमाथि कारवाही नहुँदा आचारसंहिता उल्लंघनका घटना बढेको भन्दै आचारसंहिता पालना गराउने कार्यमा निर्वाचन आयोगले खुट्टा कमाउन नहुनेमा जोड दिए ।

संघीय सांसद तथा नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशका अध्यक्ष मेटमणी चौधरीले सत्तामा हुने दलबाटै आचारसंहिता उल्लंघन बढी हुने गरेको र निर्वाचन आयोगले सत्ताधारी दलका उम्मेदवारमाथि कारवाही गर्न डराउने गरेका कारण उल्लंघनका घटना बढेको दावी गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सावित्रा अर्यालले आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन भए निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न हुनुका साथै खर्च समेत कम लाग्ने भन्दै आचारसंहिता पालनामा कडाइ गर्नुपर्नेमा जोड दिइन् ।

नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कोषाध्यक्ष निर्दोश अलीले पनि आफ्नो पार्टी आचारसंहिता पालना गर्न तयार रहेको बताउँदै आचारसंहिता बनाउँदा व्यवहारिक र कार्यान्वयनमुखी बनाउनुपर्ने धारणा राखे ।

जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेशका सह–इञ्चार्ज कमल खनालले नेपालको निर्वाचन प्रणालीमै कमीकमजोरी रहेको भन्दै निर्वाचन प्रणालीलाई नै सुधार गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलमले निर्वाचन आचारसंहिता कार्यान्वयनको कुरा औपचारिकतामा मात्रै सीमित हुने गरेको भन्दै आचारसंहिता पालनामा कडाइ गर्नुपर्नेमा जोड दिए ।

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता विरेन्द्र विकले आफ्नो पार्टी अहिलेको निर्वाचनमा सहभागी नहुने नीति लिएको भन्दै वर्तमान राज्य प्रणालीले गराउने निर्वाचनबाट जनताको आवस्यकता पूर्ति गर्ने जनप्रतिनिधि आउन नसक्ने दावी गरे ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले नेपालमा अभ्यास हुँदै आएको निर्वाचन प्रणाली भ्रष्टाचारको पृष्ठभूमि तयार गरेको भन्दै आचारसंहिता कार्यान्वयनमा कडाइ गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले निर्वाचन भड्किलो भयो भन्ने जनगुनासोलाई मध्यनजर गरी निर्वाचन आयोगले खर्च कम हुने गरी आचारसंहिता तयार पारेको भन्दै आचारसंहिता पालना भए कम खर्चमै चुनाव लड्न सकिने वातावरण बन्ने बताए ।

सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्ड विक्रम न्यौपाने ,नेकपा एमालेका नेता बलबहादुर आचार्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोगका जीवनारायण अधिकारी, इन्सेक प्रतिनिधि रीमा बिसी, संचारिका समूह लुम्बिनी अध्यक्ष अमृता अनमोल, मानव अधिकार आयोग लुम्बिनीका अधिकृत सन्तोष आचार्य, प्रहरी उपरीक्षक रामेश्वर श्रेष्ठ, राष्ट्रिय अपांग महासंघका होमनाथ अधिकारी, एकल महिला रुपन्देही अध्यक्ष रीता सेन, यौनिक तथा अल्पसंख्यक संघका सन्तु पुन, पत्रकार मीना भट्टराई लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम संवाद समूह लुम्बिनीका सहजकर्ता सुशिलचन्द्र बस्नेतको सहजीकरणमा सम्पन्न भएको थियो ।