
शुक्रवार , बैशाख ९, २०७९
भैरहवा, ९ वैशाख ।
केही दिन अघि नेपाली कांग्रेस परित्याग गरेका नेता मात्रिका प्रसाद यादव जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् । कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का पूर्व क्षेत्रीय सभापति समेत रहेका नेता यादव शुक्रबार जसपामा प्रवेश गरेका हुन् । भैरहवामा आयोजना गरिएको एक कार्यक्रमकाबीच उनलाई पार्टीका नेता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादव, कृषिमन्त्री सुमन शर्मा रायमाझी, वरिष्ठ नेता महेन्द्र यादव लगायतले पार्टीमा प्रवेश गराएका हुन् ।
नेता यादव २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट सिद्धार्थनगर नगरपालिकामा प्रमुख पदको उम्मेदवार समेत रहेका थिए ।
कांग्रेस १४ औं महाधिवेशनदेखि नै विधि, विधान नचलेकाले आफूले पार्टी परित्याग गरेको नेता यादवले बताए । उनले भने, ‘पार्टीको नेतृत्वले विधि, विधान मानेन, मैले सुधार गर्नका लागि पार्टीभित्र आग्रह गर्दै आए, आवाज उठाए, तर सुनुवाई भएन, जहाँ मान, सम्मान, विचार छैन, त्यहाँ बस्नुको औचित्य छैन । ’राजनीतिमा नैतिकताको जरुरी रहेको उनको भनाइ छ । जसपा लोकतान्त्रिक पार्टी भएको उनले बताए । उनले जसपामा रहेर पार्टीका गतिविधिलाई तीव्रता दिन आफू लागिपर्ने बताए । रुपन्देहीमा जसपासंग अन्य पार्टीले प्रतिष्पर्धा गर्न नसक्ने उनले दावी गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देही महत्वपूर्ण जिल्ला भएको बताए । उनले नेता मात्रिका प्रसाद यादवको प्रवेशले जसपा अझ मजबुत भएको दावी गरे । उनले भने, ‘जसपालाई वैकल्पिक शक्ति बनाउनका लागि प्रवेश निशेष गर्नुहुँदैन, जो पनि प्रवेश गर्न सक्छन्, सबैको मुल्यांकन हुन्छ ।’ त्यस्तै कृषिमन्त्री सुमन शर्मा रायमाझीले धेरै भन्दा धेरै ठाउँमा जसपा जित्ने गरी लाग्नुपर्ने बताइन् ।
कार्यक्रममा जसपाका वरिष्ठ नेता महेन्द्र यादव, केन्द्रीय सदस्य किस्मत वि.क., देवेन्द्र पाण्डे सागर, अशोक यादव, यज्ञ पोखरेल, पंकज राई, रुपन्देही जिल्ला अध्यक्ष रामअवतार यादव लगायतले बोल्दै जसपालाई वैकल्पिक शक्ति बनाउने अभियानमा रहेको बताए ।
जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादवको अध्यक्षता, जिल्ला उपाध्यक्ष सियाराम यादवको स्वागत तथा सचिव विजय चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij