
शुक्रवार , बैशाख ९, २०७९
भैरहवा, ९ वैशाख ।
नेकपा (माओवादी केन्द्र) सम्मरीमाई गाउँपालिकाका अध्यक्ष सहाबुद्दिन देवान आफ्नो टिमसहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रमकाबीच रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादवले देवानको टीमलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
देवानसंगै माओवादी केन्द्र सम्मरीमाई गाउँपालिकाका उपाध्यक्ष अहमद हुसेन देवान (जाकिर), अदहम अलि देवान (बुलबुल) ले पनि नेपाली कांग्रेसको सदस्यता लिएका छन् । मुस्लिम मुक्ति मोर्चाका रुपन्देही अध्यक्ष समेत रहेका माओवादी नेता देवानले माओवादीमा ३० वर्षदेखि काम गरेको र अहिले पार्टीमा बेईमानी र पूंजीवाद हावी भएको आरोप लगाए । उनले अहिले माओवादीले पूंजीवादको दबाबमा परेर टिकट विक्री वितरण गरिरहेको आरोप लगाए । मर्चवार क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादवको नेतृत्वमा कांग्रेस पार्टीले राम्रो काम गरिरहेकोले आफूले कांग्रेस रोजेको उनको भनाइ छ ।
पार्टी प्रवेश कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रमोद यादवसंगै प्रदेशसभा सदस्य अष्टभुजा पाठक, नेपाली कांग्रेस रुपन्देहीका उपाध्यक्ष थानेश्वर घिमिरे, क्षेत्र नम्बर ४ का सभापति मुकेश यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij