२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

एमाले तिलोत्तमाको घोषणापत्र सार्वजनिक

२८ बुँदे प्रतिवद्धता, घिमिरेको नेतृत्व सफल

शनिवार , बैशाख १०, २०७९

भैरहवा, १० वैशाख । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तिलोत्तमा नगर कमिटीले पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । नगर पार्टी कार्यालय शंकरनगरमा आयोजित कार्यक्रमका अवसरमा एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज लिला गिरीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एमाले तिलोत्तमाले तयार गरेको घोषणापत्रले शिक्षा, स्वास्थ्य, खानेपानी र ढल निकास, फोहोरमैला व्यवस्थापन, विद्युतीकरण र आधुनिक उर्जा, जलस्रोत तथा सिंचाई पूर्वाधार, सडक तथा यातायात, आवास व्यवस्था, कृषि तथा पशुपंक्षी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । घोषणापत्रमा तिलोत्तमा नगरपालिकाले विगत ५ वर्षमा हासिल गरेका उपलब्धीहरुको पनि विश्लेषण गरिएको छ ।

नगरपालिकाको वर्तमान नेतृत्व सफल

एमालेले स्थानीय तहको चुनावी घोषणा पत्रमा नगरप्रमुख वासुदेव घिमिरेको कार्यकालमा महत्वपूर्ण उपलब्धी हासिल गरेको दावी गरेको छ । घिमिरे नेतृत्वको कार्यकालमा पूर्ण सरसफाईउन्मुख देशकै पहिलो नगरपालिका, तिलोत्तमा लगानी सम्मेलनको आयोजना, नगरको आफ्नै गीत, लोगो र सिटी फूल, मुलुककै पहिलो खुला पोलिथिनमुक्त नगरपालिका, नगरभित्र निर्माण हुने घरहरुमा एउटै कलरकोड कार्यान्वयन, छोटो अवधिमा सम्पूर्ण वडा कार्यालय निर्माण गरी सहज सेवा प्रवाह, उपत्यकाबाहिर पहिलोपटक ६ लेन सडकमा ट्राफिक लाईट, डिजिटल घर नम्बरिङ, ५१ वटा सूचक पूरा गरी मुलुककै पहिलो बालमैत्री नगरपालिका घोषणा र सेवा प्रवाहमा आइएसओ प्रमाणित नगरपालिका भएको घोषणापत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै एकीकृत नगर विकास योजना निर्माण, विद्यालयहरुमा जंकफुड निरुत्साहित, २१ वटा सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी, आकर्षक उद्यानहरु निर्माण, नगरपालिकाको बाल प्रोफाईल निर्माण, सामुदायिक विद्यालयमा आकर्षण बढाउन १२ वटा विद्यालयका लागि बस उपलब्ध, सबै सामुदायिक विद्यालयमा खानेपानी, शौचालय, भवन लगायतका पूर्वाधार निर्माण, सबै वडामा स्वास्थ्य संस्था, ज्येष्ठ नागरिक र गर्भवती महिलाको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था लगायतका काम विगत ५ वर्षमा भएको एमालेको दावी छ ।

त्यस्तै कृषि, पूर्वाधार विकास, समावेशीता, वन, वातावरण तथा विपद व्यवस्थापन, महिला उद्यमशीलता, पर्यटन तथा सुशासनको क्षेत्रमा पनि महत्वपूर्ण उपलब्धी हासिल भएको एमालेको घोषणापत्रमा उल्लेख छ ।

एमाले तिलोत्तमाले जारी गरेको आगामी ५ वर्षको घोषणापत्रमा २८ वटा बुँदामा विभिन्न प्रतिवद्धता सार्वजनिक गरिएका छन् । शिक्षातर्फ एक विद्यालय एक पुस्तकालय तथा वाचनालय स्थापना, सबै सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम विस्तार, मावि तहको पाठ्यक्रममा कृषि विषयलाई समावेश गर्न पहल गरिने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै स्वास्थ्यतर्फ स्वास्थ्य बीमा कार्यक्रमलाई तीव्रता दिइने, स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रको स्तरवृद्धि, वडा नम्बर ६ को गोरकट्टा र वडा नम्बर १७ को बीपीग्राममा १५ शैयाको अस्पताल निर्माण गरिने उल्लेख छ । 

त्यसै गरी शतप्रतिशत घरहरुमा स्वच्छ खानेपानी, नयाँ बन्ने सडकमा ढल निकास कार्यलाई प्राथमिकता, नगरका विभिन्न सार्वजनिक स्थानमा सार्वजनिक शौचालय निर्माण गरिने एमालेको प्रतिवद्धता छ । त्यसै गरी गोवरग्याँस प्लान्ट राख्नेलाई छुट्टै अनुदानको व्यवस्था, विद्युतीय लाईन भूमिगत गराउन पहल, हरेक बस्तीबाट उज्यालो कोष स्थापना गरी सडक बत्तीको व्यवस्थापन गरिने उल्लेख छ । 

त्यस्तै मुख्य सडकलाई दुईलेनको सडकमा स्तरोन्नती, दुईलेनको चक्रपथ पाँच वर्षभित्र सक्नका लागि पहल, १६/३६ नहरका दुवैतर्फ हरियाली सडक निर्माण, प्रादेशिक बसपार्क निर्माणका लागि आवश्यक समन्वय गरिने उल्लेख गरिएको छ ।
त्यस्तै कृषि पकेटहरुको पहिचान गरी व्यवसायिक खेतीका लागि प्रोत्साहन, सामूहिक खेती प्रणालीलाई अनुदानको व्यवस्था, वडा नम्बर १७ मा चिस्यान केन्द्र सञ्चालन, जमिन खाली राख्न नपाउने नीतिलाई निरन्तरता, खेतीयोग्य जमिनलाई प्लटिङ गर्न निरुत्साहित, पाँचवर्षे कृषि योजना तर्जुमा गरी कार्यान्वयन गरिने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्र सार्वजनिक गर्दै एमाले पोलिटब्यूरो सदस्य, लुम्बिनी प्रदेश सह–इञ्चार्ज तथा पूर्वमन्त्री लिला गिरीले सिंगो पार्टीविरुद्ध विपक्षीहरुले गठबन्धन गरेकाले एकजुट भएर चुनावमा जानुपर्ने भन्दै चुनाव जित्ने गरी भूमिका खेल्न कार्यकर्तालाई आग्रह गरे ।
अर्का पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज दधिराम न्यौपानेले मैले टिकट पाए जित्छु र मैले नपाए जिताउँछु भन्ने भावनाका साथ दृढ अठोट लिएर चुनावमा जान आग्रह गरे ।

एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डेले पार्टीले जारी गरेको घोषणापत्र निर्वाचन जितेपछि कार्यान्वयन गरिने तिलोत्तमाको विकासमा थप ईट्टा थप्ने बताए ।

कार्यक्रममा एमाले नगर उपाध्यक्ष नेत्रलाल बन, सचिव मिनप्रसाद पोखरेल लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । एमाले प्रदेश कमिटी सदस्य टिकाराम घिमिरे नेतृत्वको टिमले विभिन्न क्षेत्रसँगको सुझावका आधारमा घोषणापत्र तयार पारेको हो ।