
शनिवार , बैशाख १०, २०७९
भैरहवा, १० वैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुलाल यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेता यादवले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी गराएका छन् ।
एमालेको सिद्वान्त, विचार मन परेर २०५४ सालदेखि नै पार्टीमा लागेको जानकारी दिदै उनले केही नेताहरुको कारण आफूले पार्टी छोडेको बताए । उनले भने, ‘म पार्टीको नीति, सिद्वान्त मन परेर एमालेमा आबद्ध भए, कुनै नेता मन परेर वा कुनै लाभ लिन्छु भनेर आएको होइन् ।’ पार्टी विधि, विचार र सिद्वान्त अनुसार नचलेको उनको भनाइ थियो ।
आफूलाई रुपन्देही क्षेत्र नम्बर ४ (मर्चवार क्षेत्र) को इञ्चार्ज बनाइए पनि नेतृत्वले मर्चवारको विषयमा आफूसँग कुनै छलफल नगरेको उनले गुनासो गरे । उनले भने, ‘पार्टीको काममा निरन्तर लागिपरेको थिए, तर मविरुद्ध नै भ्रामक प्रचार गरियो । ’
आफू आगामी स्थानीय तहको निर्वाचनमा सम्मरीमाई गाउँपालिका अध्यक्षको उम्मेदवारको आकांक्षी भए पनि कुनै पनि छलफल नगराइएको बताए । छलफल नगरीकन एकलौटी ढंगले अगाडी बढेको उनले बताए । उनले भने, ‘गाउँपालिकाको नेतृत्वमा रहेर जनताको काम गर्न सक्छु भन्ने सोच हो, मेरो इच्छा सांसद बन्ने होइन, तर आकांक्षी हुँदाहुँदै छलफल समेत गराइएन् ।’
अब आफू स्वतन्त्र बस्ने उनले बताए । केही नेताहरुका कारण अहिलेको अवस्थामा आफूलाई अत्यन्तै पीडाको महसुस भएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij