
१३ पालिका प्रमुख र उपप्रमुखलाई टिकट वितरण, दुईदर्जन बढी वडाहरुमा टिकट बाड्न बाँकी
शनिवार , बैशाख १०, २०७९
बुटवल, १० वैशाख ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि टिकट वितरण कार्यलाई तीव्रताका साथ अगाडी बढाएको छ । रुपन्देही जिल्लाका १३ पालिकामा उम्मेदवारी उठाउने रणनीतिका साथ अगाडी बढेको जनमत पार्टीले सबै पालिकाका प्रमुख र उपप्रमुखमा उम्मेद्वार टुंगो लगाएर टिकट समेत वितरण गरिसकेको छ । बुधबारदेखि रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालयबाट सुरु गरिएको टिकट कार्यक्रमलाई शनिवार पनि निरन्तरता दिइएको छ ।
जनमत पार्टी रुपन्देहीका अनुसार रुपन्देहीका १३ पालिकाका सबै प्रमुख र उपप्रमुखलाई टिकट वितरण गरिसकिएको छ भने ८३ वटा वडाहरुमध्ये एकदर्जन बढी वडामा मात्र टिकट वितरण गर्न बाँकी छ । पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवका अनुसार रुपन्देहीको मर्चवारी गाउँपालिकामा अध्यक्षका लागि मुरलीधर कुर्मी र उपाध्यक्षका लागि कुमारी पुजा यादवलाई टिकट वितरण गरिएको छ ।
त्यस्तै सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा रामरत्न केवट र उपाध्यक्षमा मीना देवी लोध, कोटहीमाईको अध्यक्षमा सन्तोष यादव र उपाध्यक्षमा समिना खातुन, गैडहवाको अध्यक्षमा रामदेव यादव र उपाध्यक्षमा नर्वदा लोध, ओमसतियाको अध्यक्षमा शिवचरण केवट र उपाध्यक्षमा मीना चौधरी (थारु), मायादेवीको अध्यक्षमा राम विष्णु प्रसाद लोध र उपाध्यक्षमा गुन्जा बरई, शुद्धोधनमा अध्यक्षमा सन्तोष चौधरी, सियारी गाउँपालिका अध्यक्षमा निवार प्रसाद माली , रोहिणी गाउँपालिकाको अध्यक्षमा विष्णु कुर्मी र उपाध्यक्षमा रिना हरिजनले टिकट पाएका छन् ।
त्यस्तै तिलोत्तमा नगरपालिकामा जनमत पार्टीको तर्फबाट नगर प्रमुखमा राजेन्द्र थारु र उपप्रमुखमा पार्वती थारु, लुम्बिनी साँस्कृतिक नगरपालिकाको नगर प्रमुखमा चन्द्रकेश गुप्ता (सि.के. गुप्ता) र उपप्रमुखमा सन्ध्या लोध, देवदह नगरपालिकाको नगरप्रमुखमा सतई मल्लाह र उप प्रमुखमा पुनम तेली गुप्ताले टिकट पाउनु भएको जनमत पार्टी जिल्ला कार्यसमिति रुपन्देहीले जनाएको छ ।
रुपन्देहीका सबै पालिकाको उम्मेदारहरुको टुंगो लागिसकेको भए पनि भिडभाडले गर्दा वितरणमा ढिला भएको जनमत पार्टीका जिल्ला अध्यक्ष राम विष्णु प्रसाद लोधले जानकारी दिए । उनले उम्मेदवार मनोनयनको दिनसम्म सबै वडा सदस्यदेखि पालिका प्रमुख उपप्रमुखहरु टुंगो लागिसक्ने दावी गरे ।
यस्तै, जनमत पार्टीले भैरहवाबाटै नवलपरासी र कपिलवस्तु जिल्लाका पालिकाहरुको पनि टिकट वितरण गरेको छ । रुपन्देही, कपिलवस्तु र नवलपरासी गरी तिन जिल्लाका स्थानीय तहका उम्मेदवारलाई टिकट वितरणको जिम्मा पाएकोमा रुपन्देहीका अधिकांश पालिकाहरुको टिकट वितरण भइसकेको जनमत पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ताले बताए । उनले कपिलवस्तु र नवलपरासीका स्थानीय तहहरुमा टिकट वितरणलाई तीव्रता दिएको र आइतबारसम्म टिकट वितरणलाई सम्पन्न गरी निर्वाचनमा अत्याधिक स्थानमा विजय गर्ने गरी अगाडी बढेको समेत बताए ।
पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले जनमत पार्टीका उम्मेदवारहरुले जिल्लाका अधिकांश पालिकामा जित हासिल गर्ने दावी गरे । उनले पुराना पार्टीले जनताको पक्षमा काम नगरेकाले र जनमत पार्टीले मात्र जनताको पक्षमा काम गर्ने भएकाले यस पटक जनताले जनमत पार्टीलाई भारी मतले विजय गराउने दावी गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij