२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

आफ्ना उम्मेदवारलाई जिताउन एमालेले प्रचारप्रसारलाई व्यवस्थित गर्ने 

शनिवार , बैशाख १०, २०७९

भैरहवा, १० वैशाख ।
आसन्न स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवारलाई विजयी गराउन जिताउन प्रचारप्रसारलाई व्यवस्थित ढंगले लैजाने योजना बनाएको छ । प्रचारप्रसारलाई प्रभावकारी रुपले व्यवस्थापन गर्न/गराउन सके जनताले मतदान गर्दा सहजता हुने निष्कर्ष निकाल्दै बुटवलमा शनिबार सम्पन्न पार्टीको प्रचार विभागको बैठकले त्यस्तो निर्णय गरेको हो ।

बैठकमा प्रचार विभागका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिदैं एमाले प्रदेश कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख डिआर घिमिरेले ‘एक पालिका एक प्रचार डेस्क’ गराउने र आसन्न निर्वाचनमा एमालेका उम्मेदवारलाई निर्वाचनमा जित प्राप्त गर्न सघाउने गरी काममा खटिन अनुरोध गरे ।

त्यसै गरी पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य शेर बहादुर के.सी.ले एमालेको प्रमुख/उपप्रमुख भएका कतिपय स्थानीय तहका राम्रा र महत्वपूर्ण समाचारहरु अझैसम्म नबनेको बताउँदै त्यस्ता राम्रा कामको खोजी गरी प्रभावकारी ढंगले समाचार सम्प्रेषण गर्नुपर्ने बताए । 

एमाले रुपन्देहीका जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले एमालेका उम्मेदवारहरु सबैलाई निर्वाचनमा जिताउने गरी जिल्ला प्रचार विभाग र प्रेस चौतारीका सदस्यहरुले व्यवस्थित रुपमा काम गर्ने बताए ।   
प्रेस चौतारी, नेपालका केन्द्रिय सचिव प्रदीप आचार्यले नेताले तथा उम्मेदवारले बोलेका कुरालाई मात्रै समाचार बनाउने नभइ

पार्टीका घोषणापत्रहरुलाई पनि विश्लेषण गरेर समाचार तयार गर्नुपर्नेमा जोड दिए । चौतारीका पूर्व केन्द्रिय सचिव भरत के.सीले प्रचार विभागको योजनामा प्रेस चौतारीले काम गर्ने बताए ।

त्यसै गरी बैठकमा प्रचार विभागका उपप्रमुख तथा प्रेस चौतारीका केन्द्रिय सदस्य अमृत गिरीले हरेक पालिकामा प्रचार विभागको डेस्क स्थापना गर्ने र चौतारी आबद्ध पत्रकारहरुलाई खटाउने बताए ।

यसैबीच प्रचार विभागको आयोजनामा केही दिनमै जिल्लास्तरीय प्रचार भेला आयोजना गर्ने, हरेक पालिकामा प्रचार डेस्क स्थापना गर्ने, डेस्कको लागि आवश्यक सञ्चार उपकरण तथा सामग्री विभागले उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको उपप्रमुख गिरीले बताए ।

त्यसै गरी बैठकले प्रेस चौतारी रुपन्देही जिल्ला कमिटीले हरेक पालिकामा खटाएका सदस्यहरुलाई समन्वय गर्ने गरी हरेक पालिकामा प्रचार विभागले पालिकास्तरीय प्रचार डेस्क संयोजक चयन गर्ने र सोही संयोजकले जिल्ला प्रचार डेस्कमा हरेक दिनको गतिविधि अपडेट गराउनेगरी निर्णय गरेको एमाले जिल्ला प्रचार विभागका सचिव नरेश के.सी.ले बताए ।

रुपन्देहीमा आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धन र नेकपा (एमाले) बीच प्रतिष्पर्धा रहने देखिएको छ । जिल्लाका १६ पालिकामध्ये बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र देवदह नगरपालिकामा एमालेको अवस्था गठबन्धन भन्दा अग्रभागमा रहेको प्रचार विभाग प्रमुख पन्थीको दावी छ ।  ‘यस अघिको निर्वाचनमा देवदहमा झिनो मतले मेयरमा पराजय भोगेको भएता पनि उपप्रमुखसहित एमाले विजयी भएको थियो भने अन्य नगरपालिकामा एमालेको मेयर उपप्रमुख विजयी भई महत्वपूर्ण काम गरेका थिए । प्रमुख पन्थीले भने, ‘विगतको ५ वर्षमा हाम्रो पार्टी एमालेको तर्फबाट विजयी भइ काम गरिरहेका प्रमुख, उपप्रमुख वडाअध्यक्षहरुको राम्रा कामको प्रचार जति जरुरी छ त्यसै गरी पार्टीको भिजन र मिसनलाई पनि मिडियामार्फत जनता समक्ष पुर्याए मात्रै पनि आसन्न निर्वाचनमा एमालेले लगभग अधिकांश पालिकामा विजयी प्राप्त गर्नेछ । ’

त्यसै गरी सियारी, शुद्धोधन, कञ्चन, ओमसतिया, रोहिणी गाउँपालिकामा पनि एमाले गठबन्धन भन्दा अगाडी रहेको प्रचार विभाग प्रमुख पन्थीको दावी छ । त्यसै गरी जिल्लाको गैडहवा, सम्मरीमाई, मर्चवारी, कोटहीमाई गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकामा पनि एमाले गठबन्धनकै प्रतिष्पर्धामा रहेको प्रचार विभागको निष्कर्ष छ । प्रचार विभागले जिल्लाका १६ पालिकामा एमालेको नीति र घोषणापत्रलाई जनताले बुझ्ने भाषामा शहर र गाउका टोलटोलमा रेडियो, टेलिभिजन, अनलाईन र पत्रिकामार्फत पुर्याउने तयारी समेत गरेको छ ।

बैठकमा प्रचार विभाग प्रदेश सदस्य दिनेश पाण्डे, प्रेस चौतारीका केन्द्रिय सदस्य मिलन गाहा, लुम्बिनी प्रदेश महासचिव निरु गौतम, चौतारीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले प्रचार विभागको कामलाई निर्वाचनको समयमा प्रभावकारी ढंगले व्यवस्थापन गर्नुपर्ने बताए ।