२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

एमालेबाट २१ वर्षिय स्वेताले दिइन् सिद्धार्थनगर–६ को सदस्यमा उम्मेदवारी

मंगलवार , बैशाख १३, २०७९

भैरहवा, १३ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा २१ वर्षिय युवतीले वडा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् ।
२१ वर्षिय स्वेता कुमार हरिजनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट महिला (दलित) सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् । 

स्थानीय तहमा अब युवा पनि जनप्रतिनिधिको रुपमा आउनुपर्ने आवश्यकता भएकाले आफूले उम्मेदवारी दर्ता गराएको उनले बताइन् । उनले भनिन्, ‘वडा नम्बर ६ को विकाससँगै पिछडिएको समुदायका लागि केही गर्न सक्छु भन्ने सोचले उम्मेदवारी दिएको हुँ, एमालेले मलाई वडा सदस्यमा उम्मेदवारी दिन हौसला प्रदान गरेकोमा पार्टीलाई धन्यवाद दिन चाहन्छु ।’ हाल स्नातक तहमा अध्ययनरत स्वेताले मुलुकको विकासमा युवाहरुको भूमिका महत्वपूर्ण रहने बताइन् ।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) की  केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसीले सिद्धार्थनगर वडा नम्बर ६ मा लामो समयदेखि राजनीतिमा अनुभव बटुलेकादेखि युवासम्मले पार्टीबाट उम्मेदवारी दिएको बताइन् । 

ward.jpg

अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले वडा सदस्यको उम्मेदवार स्वेताले राजनीतिप्रति चासो राख्दै आएको बताए । उनले एमालेले युवालाई प्राथमिकता दिने गरेकाले वडा सदस्य पदमा स्वेतालाई उम्मेदवार बनाउनु राम्रो कार्य भएको बताए ।

सिद्धार्थनगर–६ मा एमालेबाट वडाअध्यक्षमा राम दयाल गुप्ता, वडा सदस्यमा अनिता थापा, रामप्रसाद श्रेष्ठ, मोहम्मद अकिल मुसलमान र स्वेता कुमारी हरिजनले उम्मेदवारी दर्ता गराएका छन् ।