२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

सिद्धार्थनगरमा एमालेको जीत सुनिश्चित छ : घनश्याम भुसाल

बुधवार , बैशाख १४, २०७९

भैरहवा, १४ वैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले आगामी निर्वाचनमा सिद्धार्थनगर नगरपालिकामा एमालेको जीत सुनिश्चित भएको दावी गरेका छन् । उनले यो पालिकाले धेरै राम्रो काम गरेकाले पुनः एमालेले जित्ने बताए ।

एमाले सिद्धार्थनगर कमिटीले मंगलबार भैरहवामा आयोजना गरेको उम्मेदवार परिचय तथा पत्रकार सम्मेलनमा बोल्दै नेता भुसालले सिद्धार्थनगर नगरपालिकाले प्रतिवद्धता पत्रका ६५ वटा बुँदामध्ये ५५ वटा पुरा गरेको बताए । उनले उनले, ‘राम्रा काम गरेका छौं, भनिन्छ नी प्रत्यक्ष छ भने के प्रमाण चाहिन्छ । नेता भुसालले पाँच वर्षअघिको भैरहवा र अहिलको भैरहवा हेर्दा शिक्षा, स्वास्थ्य, विद्युत, यातायात लगायतको क्षेत्रमा काम भएको बताए ।’

रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका भुसालले फ्रिज हुन नदिइ नगरपालिकाल बजेट खर्च गर्न सफल भएको बताए । उनले एमालेका उम्मेदवाहरु सम्पूर्ण हिसाबले योग्य र कुनै मानेमा कमजोर नभएको बताए । उनले भने, ‘एमालेका उम्मेदवारहरु एउटा आस्था विचारमा निरन्तर लाग्नुभएको छ । ’

एमालेको प्रतिष्पर्धी को हो भनेर जान्न कम्तीमा वैशाख २७ गतेसम्म पर्खिनुपर्ने उनले बताए । भुसालले भने, ‘सम्भवत प्रचारप्रसार सकिएपछि २७ गतेतिर एमालेसँग प्रतिष्पर्धा कसले गर्छ भन्ने कुरा सोध्नुभयो भने कोही नजिक आउँछ भने मात्र भन्न सकिएला कोही नजिक आएन भने त कसरी भन्नु ।’

कार्यक्रममा एमालेको तर्फबाट सिद्धार्थनगर नगरपालिका प्रमुखका उम्मेदवार डा. रामप्रसाद बस्यालले नगरपालिकाको नेतृत्वमा पुगेपछि उदाहरणीय बनेर देखाउने बताए । उनले भने, राम्रो काम गरेर देखाउँछौं, अपमान हुने गरी काम गर्दैनौं । सबैको सल्लाह सुझाव लिएर आफू र आफ्नो टीम अगाडी बढ्ने उनले बताए । 

नगर उपप्रमुखका उम्मेदवार उमा अधिकारीले एमाले सबैभन्दा ठूलो पार्टी भएकोले एक्लै प्रतिष्पर्धा गर्न सकिदैन भनेर गठबन्धन बनाएर सतारुढ दलहरु निर्वाचनमा सहभागि हुन थालेको बताइन् । उनले सिद्धार्थनगरमा एमाले कति बलियो छ भन्ने कुरा मनोनयपत्र दर्ताको दिन निकालिएको र्यालीले स्पष्ट पारेको बताइन् । स्थानीय तह निर्वाचन एमालेले जित्ने उनले दावी गरिन् ।
उनले भनिन्, ‘राजनीतिमा महिला पछाडी पर्नुभएको छ, उहाँहरुलाई अगाडी बढाउनुपर्छ । ’

एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले सिद्धार्थनगर नगरपालिकामा घोषणापत्र अनुसार ९० प्रतिशत काम गरिएको बताए । उनले सिद्धार्थनगरमा गएको पाँच वर्षमा एमालेले नेतृत्वको स्थानीय तहमो देखिने गरी भएको विकास आगामी निर्वाचनमा जितको अर्को आधार भएको बताए । 

एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले एमालेसँग प्रतिष्पर्धा गर्ने कुनै शक्ति नभएको बताए । उनले पाँचदलीय गठबन्धनको सरकार बनेपछि मुलुकमा आर्थिक संकट परेको बताए ।

एमाले सिद्धार्थनगरका उपसचिव कुमार गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका अन्तर्गत वडा नम्बर १ देखि १३ सम्मका वडाअध्यक्षका उम्मेदवारहरुको परिचय गराइएको थियो ।