२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

एमालेविरुद्धको गठबन्धन नेताहरुबीच देखाउनका लागि मात्र : कंडेल

बुधवार , बैशाख १४, २०७९

बुटवल, १४ वैशाख । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलले एमालेविरुद्धको गठबन्धन नेताहरुबीच देखाउनका लागि मात्र भएको बताएका छन् । एमालेको जनलहरबाट आत्तिएर नेताहरुबीच गरिएको गठबन्धन जनताले परास्त गर्ने उनको भनाइ छ । 

एमाले तिनाउ पाल्पाको उम्मेदवार परिचय तथा प्रतिवद्धता सार्वजनिक कार्यक्रममा बोल्दै उनले भागबण्डाका लागि गरिएको गठबन्धनले एमाले थप बलियो बनेको बताए । अध्यक्ष कंडेलले निर्वाचनको समयमा पार्टीभित्रका मतभेदलाई बिर्सेर गठबन्धनलाई परास्त गर्न निर्देशन दिए ।

त्यस्तै एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य झपेन्द्र जीसीले एमालेको आन्तरिक एकताले जुनसुकै गठबन्धनलाई परास्त गर्न सकिने आधार भएको बताए । एमालेबाहेकका दलहरु गठबन्धनमा जोडिएका बेला एमालेका कार्यकर्ता एकजुट हुनुको विकल्प नरहेको उनले बताए  । 

प्रदेश सदस्य ओमबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पा जिल्ला सदस्य तथा तिनाउ गाउँपालिका इञ्चार्ज दलबहादुर गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए । गुरुङले निर्वाचनका समयमा उम्मेदवारले गर्नुपर्ने भूमिका तथा रणनीतिका बारेमा रणनीतिक योजना प्रस्तुत गरेका थिए । तिनाउबाट एमालेले यहाँबाट अध्यक्षमा प्रेम श्रेष्ठलाई अध्यक्ष तथा सावित्रा रानालाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।

तिनाउमा माओवादीले अध्यक्षसहित २ वडाध्यक्ष तथा कांग्रेसले उपाध्यक्षसहित ४ वडाध्यक्ष लिने गरी गठबन्धन गरेका छन् । माओवादीलाई यहाँको नेतृत्व दिएको भन्दै कांग्रेसका ६ वटै वडा सभापति तथा गाउँ सभापतिले पार्टीमा राजीनामा बुझाएपछि गठबन्धनमा चुनौती थपिएको छ । एमालेले विप्लव नेतृत्वको नेकपा तथा अन्य साना दललाई साथमा लिएर यसअघिको आफ्नो नेतृत्व कायम राख्ने रणनीति बनाएको छ । यसअघि तिनाउमा एमालेले जितेको थियो ।