२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

नगरपालिका मात्रै होइन, नगरवासी पनि उत्कृष्ट बनाउने गरी काम गछौं : रामकृष्ण खाँण

शनिवार , बैशाख १७, २०७९

बुटवल, १७ वैशाख ।
नेपाली कांग्रेस तिलोत्तमाले चुनावी अभियानलाई तीव्रता दिएको छ । तिलोत्तमा वडा नम्बर ४ ,५ र ६ नम्बर वडामा घरदैलो गरिएको छ । त्यसै गरी तिलोत्तमा वडा नम्बर ५ को चुनावी प्रचार–प्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । सो अवसरमा बोल्दै मेयरका उम्मेदवार रामकृष्ण खाँणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त तिलोत्तमा बनाउने प्रतिबद्धता व्यक्त गरे ।

तिलोत्तमा प्रशस्त सम्भावना बोकेको नगरपालिका भएकोले पनि शुद्ध मन र प्रष्ट विचारसहित काम गरेमा नगरपालिका मात्र नभई नगरवासी पनि उत्कृष्ट हुने बताए । उनले यसअघि नगरमा एमाले नेतृत्वले नीतिगत भ्रष्टाचार गरेको भन्दै अब कांग्रेसले जितेपछि नगरलाइ सुशासनमा नम्बर वान बनाउने र बेरुजु शुन्य बनाउने काम आफूहरुको नेतृत्वले गर्ने बताए । कार्यक्रममा गठबन्धनको तर्फबाट उपमेयरका उमेदवार हेमन्त पाण्डेले प्रतिबद्धता पत्रमा समेटिएका विषयहरुलाई पूरा गर्ने बताए ।

कार्यक्रममा वडा नम्बर ५ ले छुट्टै प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेको छ । उक्त पत्रमा सन्तुलित र पक्षपात रहित विकास निर्माणमा जोड दिइएको छ । प्रत्येक घरमा खपत हुने खानेपानीको न्युनतम रकममा अनुदानको ब्यवस्था गरि व्यवस्थापन गर्ने जनाइएको छ।

प्रतिवद्धता पत्रमा नयाँमिल मणिग्रामदेखि शंकरपुरसम्मको तुल्सीपुर कुलो चौडा गर्ने र पक्की बनाउने तथा मणिग्राम बजार क्षेत्रभित्रका सबै सडक तथा नालिहरुको दीर्घकालीन सोंच राखी पक्की तथा स्तरउन्नति गर्ने कुरामा जोड दिएको छ ।
सो अवसरमा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जि.सी., माओवादीका नगर अध्यक्ष बेलप्रसाद शर्मा, कांग्रेस नगर अध्यक्ष हरिलाल पाण्डे , रोमणीप्रसाद पाठक, मिनप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको सचिवालय समिति सदस्य माधवलाल देवकोटाले जानकारी दिए ।

कार्यक्रममा तिलोत्तमा वडा नम्बर ५ वडाअध्यक्षका उमेदवार रमेश डुम्रे सदस्यहरु धर्मादेवि न्यौपाने, प्रमिला सुनार, हरि पन्त, हिरा गिरी लगायतको सहभागिता रहेको थियोे । क्षेत्रीय सभापति श्यामसुन्दर तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस वडा नम्बर ५ का सचिव बाबुराम भण्डारीले गरेका थिए ।

तिलोत्तमा–३ मा प्रतिबद्धतापत्र सार्वजनिक 

यस्तै आज तिलोत्तमा वडा नम्बर ३ ले प्रतिवद्धतापत्र सार्वजनिक गरिएको वडाअध्यक्षका उम्मेदवार कल्याण पौडेलले बताए । उनको घोषणापत्रमा सुशासन, स्वास्थ्य, सरसफाई, शिक्षा, सामाजिक सुरक्षा, भौतिक पूर्वाधार, कृषि लगायतका एजेण्डा अगाडी सारिएको छ । वडा नम्बर ४ मा पौडेलको नेतृत्वमा चुडाकुमारी बिष्ट, रेखा कार्की, बिष्णुबहादुर थापा र नारायणबहादुर थापा क्षेत्री उम्मेदवार छन् ।