
आइतवार , बैशाख १८, २०७९
भैरहवा, १८ वैशाख ।
स्थानीय निर्वाचनको माहोल तातिरहेको बेला रुपन्देहीको दक्षिणी क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुको संख्या बढ्दै गएको छ । दैनिकजसो पार्टी प्रवेश चलिरहने विभिन्न पालिकाहरुमा शनिबार पनि त्यो उत्साह देखियो । जिल्लाको मायादेवी गाउँपालिकाका मुस्लिम समुदायका होनहार व्यक्ति तथा राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही क्षेत्र नम्बर ४ (ख) का अध्यक्ष रियाजुद्धिन खान शनिबार एमालेमा प्रवेश गरेका छन् ।
पञ्चायत कालमा बर्सौली पञ्चायतका प्रधान पन्च स्व.काशिम खानका सुपुत्र समेत रहेका उनी यस अघि २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिइ ५ सय ८० मात्र मतले पराजित भएका थिए ।
उनको नेतृत्वमा मोहम्मद मुस्तफा, जितेन्द्र धरिकार, जोखु यादव, तुलसी चाई, समिम खान लगायत करिब ६० जनाको संख्यामा पार्टी प्रवेश गरेको पार्टीको गाउँपालिकाका सचिव लाला लोधले बताए । मायादेवी गाउँपालिका वडा नम्बर ५ निवासी खानसहितको टिमलाई पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्मा, रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी तथा केन्द्रीय नेताहरुले स्वागत गरेका हुन् ।
मुस्लिम समुदायको हकअधिकारको लागि अन्य पार्टीको तुलनामा एमालेको भूमिका महत्वपूर्ण रहेकाले आफुले नेकपा एमाले रोजेको रियाजुद्धिन खानको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले मायादेवी गाउँपालिकामा खानको पार्टी प्रवेशले एमालेले यो पालिकामा लालकिल्ला बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । पछिल्लो समय एमालेप्रति जनताको विश्वास बढ्दै गएको प्रसंग जोड्दै उनले रुपन्देहीका अधिकांश पालिकामा नेकपा एमालेले बहुमत ल्याउने दावी गरे ।
कार्यक्रममा बोल्दै एमाले अनुशासन विभाग केन्द्रीय उपाध्यक्ष नेत्र पन्थीले देशलाई सही दिशा निर्देश गर्ने पार्टी एमाले मात्र रहेको दावी गरे । जनतामा खुशी र समृद्धि ल्याउने एक मात्र पार्टी नेकपा एमाले रहेको कुरा जनताले थाहा पाइसकेको उनको भनाइ थियो ।
एमाले केन्द्रीय सल्लाहकार नजिर मियाले अन्य देशको तुलनामा नेपालमा जातीय द्वन्द्व नरहेको बताउँदै हिन्दु मुस्लिम लगायतका सम्पुर्ण जातजाती र भाषाभाषीलाई एकताबद्ध गरी देशमा शान्ति स्थापना गर्नमा एमालेको भूमिका रहेको बताए ।
कार्यक्रममा बोल्दै रियाजुद्धिन खा सहितको टिमलाई पार्टीमा ल्याउनमा अग्रपंतिमा भूमिका निभाउने नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रीय उप–महासचिव जवुल मियाले मुस्लिम समुदायलाई संगठित गर्ने, मदरसा स्थापना गरी संरक्षण गर्ने, मुस्लिम आयोग गठन गर्ने र संरक्षण गर्ने लगायतका काम गर्ने पार्टी नेकपा एमाले मात्र रहेको दावी गरे ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार लाला लोधले यसअघिको स्थानीय सरकारले सम्झन लायक एउटा पनि काम नगरेको बताउँदै आफुले निर्वाचन जिते जनताले नसोचेको विकास गर्ने बताए । पार्टीको गाउँकमिटि सचिव समेत रहेका उनले बजेट सबै सकेको सरकारले काम के गर्यो भन्ने केही पनि नदेखिएको बताउँदै गरीब र पीडित जनताको लागि एमालेको सरकारले मात्र न्याय दिने दावी गरे ।
पार्टी गाउँ कमिटी अध्यक्ष साधुसरण शाहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवप्रवेशी मोहम्मद मुस्ताफा, गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार सनु चाई लगायतले बोल्दै एमाले नै जनताको सरकार रहेको कुरा जनताले बुझिसकेकाले आफुहरुको जीत सुनिश्चित भइसकेको दावी गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij