
आइतवार , बैशाख १८, २०७९
भैरहवा, १८ वैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारहरुले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सिद्धार्थनगर नगरपालिका कमिटीको तयार गरेको ११ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा जिफन्ट सिद्धार्थनगरले आइतबार भैरहवामा आयोजना गरेको कार्यक्रममा एमालेको तर्फबाट सिद्धार्थनगरको प्रमुख (मेयर)का उम्मेदवार डा. रामप्रसाद बस्याल र उपप्रमुख (उपमेयर) का उम्मेदवार उमा अधिकारीले हस्ताक्षर गरेका हुन् ।
न्यूनतम बेतन र श्रमिकका सुविधा र कानून अनुसारका अन्य अधिकार कार्यान्वयन गर्न प्रतिवद्ध रहने, बाल श्रम उन्मुलन गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकलाई सहभागि गराउन पहल गर्ने, आफ्नो पालिकाभित्रका श्रमिकको परिचयपत्र बनाउने, महिला स्वास्थ्य स्वयंसेविकाको सुविधा वृद्धि गर्ने, श्रमिकका छोराछोरी अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गर्ने, भूमिहिन–सुकुम्बासी र अव्यवस्थितलाई जग्गाधनी लालपूर्जा दिन पहल गर्ने, कृषि श्रमिकलाई कृषि सम्बन्धित तालिम बिउ, मल, खाद र सिंचाईको लागि सहुलियत उपलब्ध गराउने, श्रमिकलाई न्याय दिन पालिकामा श्रम डेस्क स्थापना गर्ने र निर्माण, यातायात, अटो मेकानिक लगायत संगठित/असंगठित क्षेत्रका श्रमिकका विभिन्न समस्या हल गर्न सहयोग गर्ने जिफन्ट सिद्धार्थनगरको प्रतिवद्धता पत्रमा उल्लेख छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले एमालेकै अगुवाइमा नेपालको संविधान बनेकाले यो संविधान अन्य मुलुक भन्दा राम्रो भएको बताए । उनले समाजवाद उन्मुख संविधान लेख्न कम्युनिष्टहरुको उपस्थिति आवश्यक रहेको र त्यसमा एमालेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘निर्वाचनमा एमालेले जिते जनताले जित्छ ।’ उनले संविधानमार्फत स्थापित भएका श्रमिकका अधिकार कार्यान्यवन गर्न एमालेका उम्मेदवारहरुलाई जिताउनुपर्नेमा जोड दिए ।
एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद पन्थीले ढुक्क भएर निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरे । उनले श्रमिकलाई एमालेले सदैव सम्मान गर्ने बताए ।
सिद्धार्थनगर नगरपालिका मेयर पदका उम्मेदवार डा. रामप्रसाद बस्यालले श्रमिकको हकअधिकार सुरक्षित हुनुपर्ने बताए । उनले अधिकार पाउन प्रयत्न गर्नुपर्ने भन्दै त्यो प्रयत्नमा आफूहरुको साथ रहने बताए ।
उपप्रमुखका उम्मेदवार उमा अधिकारीले एमालेले श्रमिकका माग पुरा गर्ने बताइन् । उनले श्रमिकका माग पुरा गराउन एमालेलाई जिताउन आग्रह गरिन् ।
एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले एमाले नेतृत्वको सरकारले श्रमिकको पक्षमा काम गर्ने बताए । उनले स्थानीय सरकारलाई अझ बलियो बनाउन एमालेलाई जिताउनुपर्ने बताए ।
एमाले रुपन्देही जिल्ला सदस्य तथा मजदूर सह-इञ्चार्ज उत्तम श्रेष्ठले एमालेले श्रमिकको पक्षमा बोल्दै आएको बताए ।
जिफन्ट लुम्बिनी प्रदेश कमिटी सदस्य सुरेश कुमार श्रेष्ठको अध्यक्षता, शान्ता कुमारी ज्ञवालीको स्वागत तथा जिफन्ट सिद्धार्थनगरका सचिव आनन्द न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij