२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

महिला उद्यमी बढाउन दर्ता र कर छुटमा सुविधा दिन पहल गर्छु : पुन

आइतवार , बैशाख १८, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, १८ वैशाख ।
    नेकपा (एकीकृत समाजवादी) का सिद्धार्थनगर नगरपालिका मेयर पदका उम्मेदवार कुलेन्द्र पुनले पार्टीले महिलाहरुको उत्थान र क्षमता वृद्धिमा ध्यान दिएको बताएका छन् । उनले पुरुषसरह महिलाहरुको पनि सबै निकायमा उत्तिकै सहभागिता गराउने पार्टीको नीति रहको बताए ।

    आइतबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा घरदैलो गर्दै उनले एकीकृत समाजवादीले यो वडाका सबै पदमा महिलालाई नै उम्मेदवार बनाउनुले पार्टी नीति स्पष्ट हुने बताए । ‘म निर्वाचित भए भने हरेक जनसहभागिताका काममा ५० प्रतिशत महिलाहरुलाई प्राथमिकता दिनेछु’, उनले भने । पुनले सीप विकास, उत्पे्रेरणात्मक तालिम महिलाहरुलाई प्रदान गरिने जनाए ।

    महिलाले उद्यम गर्न चाहेमा दर्ता शुल्कमा छुट, व्यवसायिक तालिम दिएर सक्षम गराइने बताए । ‘उद्यमी महिलाहरु बढाउन कम्तिमा १० लाखसम्मको पुँजीको उद्योग दर्ता निःशुल्क गरिनेछ’, उनले भने, ‘महिला उद्यमी भएमा पाँच वर्ष कर छुट गर्ने व्यवस्था गर्ने छु ।’ उनले पुरानो सोंच, समाजिक मूूल्य मान्यताले अझै जरो गाडेको र जसका कारण महिला उद्यमी बढ्न नसकेको जनाए ।

    ‘अझै पनि हाम्रो समाजमा महिलाको नाममा उद्योग दर्ता गरेमा, उसलाई सबै जिम्मेवारी दिएमा पछि कतै छाडेर जान्छेकी, व्यवसाय डुब्छ की भन्ने मान्यता छ’, उनले भने, ‘अब हाम्रा दिदी–बहिनीहरु सबै सक्षम भइसक्नु भएको छ, सक्षम नभएकालाई नगरपालिकाले सक्षम बनाउँछ । त्यसैले मुलुकमा आमूल परिवर्तनका लागि महिला उद्यमशीलता विकास हुन जरुरी छ ।’

    पुनले भैरहवा नमुना माध्यमिक विद्यालयको शैक्षिकस्तर सुधार्ने, भौतिक पूर्वाधार थप्ने, ग्राबेल सडकलाई कालोपत्रे गर्ने र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने बताए । उनले नगरलाई हरियाली सहरका रुपमा विकास गर्ने आफ्नो योजना भएको जनाए ।वडा नम्बर पाँचमा एकीकृत समाजवादीले सबै पदमा महिला उम्मेदवार बनाएको छ । यहाँ अध्यक्षमा पुनम जयसवाललाई उम्मेदवार छिन् भने सदस्यमा माया तेली, सिमा मित्तल, सलोनी हलवाई र निरादेवी सुनार छन् । मेयरका उम्मेदवार पुनसहित वडाध्यक्ष र सदस्यका उम्मेदवारहरु र पार्टीका कार्यकर्तासहित समाजवादी घरदैलो गरेको हो ।