२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

एमालेका उम्मेदवारको अन्य पार्टीका उम्मेदवारसँग तुलना हुन सक्दैन : भुसाल

सोमवार , बैशाख १९, २०७९

भैरहवा, १९ वैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले स्थानीय तहका निर्वाचन एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताएका छन् ।

‘महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा छ,’ उनले भने, ‘महाभारतको लडाई पाण्डवले जिते जस्तै स्थानीय निर्वाचन एमालेले जित्छ ।’ एमाले यस निर्वाचनमा पाण्डवको रुपमा खडा भएको उनको भनाइ छ ।

महाभारतमा सत्य र न्यायको लागि लडाई भए जस्तै यसपटकको निर्वाचन पनि एमालेका लागि सत्य र न्यायको लागि भएको भुसालले बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा आयोजित मतदाता भेटघाट कार्यक्रमलाईं सम्बोधन गर्दै नेता भुसालले यस्तो बताएका हुन् ।

रुपन्देहीको तिलोत्तमामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले तिलोत्तमाले विकासमा राष्ट्रिय पहिचान बनाइसकेको भन्दै अबको चुनाव जित्न यसैलाई आधार बनाउन सकिने बताए । ‘यहाँ पाँच वर्षमा प्रयाप्त पूर्वाधारको विकास भएको छ, अब यसैको जगमा टेकेर थप विकासका कार्यक्रमहरु अघि बढ्छन्, त्यसका लागि एमालेको नेतृत्व आवश्यक छ ’, भुसालले भने ।

तिलोत्तमामा एमालेकातर्फबाट अगाडि सारिएका उम्मेदवारको अन्य पार्टीका उम्मेदवारसँग तुलना हुन नसक्ने भन्दै उनले योग्यता, क्षमता, अनुभव, आन्दोलन, विभिन्न क्षेत्रमा योगदान र सक्रियताको हिसाबले एमालेले सबै हिसाबले क्षमताबान उम्मेदवारलाई अगाडि सारेकोले निर्धक्क भएर मतदान गर्न आग्रह गरे ।

एमालेका उम्मेदवारको तुलनामा अरु कोही उम्मेदवार योग्य छन् भने सार्वजनिक बहस गर्न तयार रहेको भुसालले दावी गरे ।