२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

तिलोत्तमामा भित्री सडकको बेहाल 

एमालेकै उम्मेदवार भन्छन्–गाउँ जाँदा धुलोले घाँटी बस्यो

मंगलवार , बैशाख २०, २०७९

बुटवल । तिलोत्तमा नगरमा एमालेबाट उम्मेदवारी दिएका प्रमुखका उम्मेदवार मोहन चापागाईँले भने–ग्रामीण क्षेत्रमा जाँदा बिग्रेको बाटोले बोल्न नहुने गरी घाँटी बसेको छ । उपप्रमुखकी उम्मेदवारले पनि यसै भनिन् । 

एमाले तिलोत्तमा नगरको आयोजनामा  आइतबार भएको निर्वाचन प्रचारप्रसार समितिको पत्रकार सम्मेलनमा उनीहरुले यसो भनिरहँदा वहालवाला प्रमुख वासुदेव घिमिरे मञ्चमा कालो मुख लगाएर बसिरहेका थिए । 

उपप्रमुखकी उम्मेदवार जागेश्वरीदेवी चौधरीले चुनाबी प्रतिबद्धता जनाउने क्रममा भनिन्–‘टोलटोलका सडक बिग्रिएका छन्, कालोपत्रे गर्न बाँकी छ, नाली बनाउन बाँकी छ ।’

एमालेका यी दुई उम्मेदवारका भनाईले पुष्टि हुन्छ, तिलोत्तमा नगरपालिकाको उत्कृष्टता वास्तविक हो या फण्डा । तिलोत्तमामा विकास भयो, नमूना भयो भनेर दम्भ बोकेको एमालेका लागि उनीहरुकै उम्मेदवारको भनाईले त्यसको खण्डन गर्छ ।

एमालेका उम्मेदवारहरु नै यसरी चुनाबी अभियानमा हिडिरहँदा बिरामी हुने अवस्थाको छ भन्ने कुरा एमालेकै नेताहरु स्वीकार गर्छन् । एमालेले यसरी आलोचना नगर्न उर्दी जारी गरेकाले तिलोत्तमाबासी एमालेहरु  असन्तुष्ट भएपनि खुलेर बोल्न चाहन्नन् ।

एमालेका मणिग्राम ४ नम्बरका एक नेता भन्छन्–चुनाबको बेलामा समस्या भयो भनेर नबोल्नु भन्ने आदेश छ, तर यहाँ बाहिरको बाटोमा बत्ती बाल्ने बाहेक कुनै पनि काम भएको छैन ।’  उनी भित्री सडकहरुको अवस्था बेहाल भएको बताउँछन् । खानेपानी, स्वास्थ्य उपचार, शिक्षा, नाली व्यवस्थापनका काममा पनि कुनै चासो नदेखाएको उनको गुनासो छ । 

tilottama prachar (6).jpg
तिलाेत्तमाका भित्रि सडक

तिलोत्तमाका जानकीनगरका जयराम भण्डारीका अनुसार तिलोत्तमाले प्रशासनिक सुधारमा केही प्रगति गरेपनि स्थानीयको चाहनाअनुसार कुनै काम गरेको छैन । उनी भन्छन्–‘एकदुइटा प्रचारमुखी काम भएका रहेछन्, तर वस्तीमा कुनै परिवर्तन भएको छैन, मिडियाबाजी गरेर मात्रै भएन, गाउँका जनताका लागि विकास हुनुप¥यो ।’

गणेशनगरबासी शंकर कुँवर तिलोत्तमाका सबैजसो भित्री सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने बताउँछन् । ‘धेरै सडक अलपत्र अवस्थामा छन्, मेयरले काम गरेको छु भनेर घुर्की लगाउँछन्, तिलोत्तमा देशभरकै उत्कृष्ट कसरी भयो, म त अचम्म परेको छु, उनी भन्छन्–नगरपालिकाको भवन हेरेर उत्कृष्ट हुने भए अर्कै कुरा, नगरबासीले विकासको अनुभूति नगरी कसरी उत्कृष्ट हुने रहेछ, हाँसो लाग्दो भयो ।’
नगरपालिकामा गुनासो लिएर स्थानीय नगरप्रमुख भेट्न जाँदा नगरप्रमुखले सडक डिभिजन कार्यालय जानुसु, मेरो काम हैन भनेर पठाइदिने गरेको स्थानीय भरत न्यौपाने बताउँछन् । 

‘हामी समस्या लिएर नगरप्रमुख वासुदेव घिमिरे भेट्न गयौं, उनी भन्छन्–हाम्रो नगरप्रमुख हो भनेर भेट्न गएको त हपारेर सडक डिभिजन जानुस् भनेर पठाए ।’ नगरपालिका जानेहरुलाई यसरी अपहेलित गर्दै पठाउने गरेको स्थानीयको गुनासो छ ।