
मंगलवार , बैशाख २०, २०७९
बुटवल, २० वैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल आफ्ना उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा जुटेका छन् । उनी मंगलबार बुटवल–११ का विभिन्न टोलहरूमा पुगेर एमालेका सबै उम्मेदवारहरूलाई जिताउन मतदातासँग मत माग्दै घरदैलोमा सहभागी भए ।
सो अवसरमा बोल्दै नेता पौडेलले एमालेप्रति जनताको असाधारण उत्साह आएकोले एमालेको जीत सुनिश्चित रहेको बताए । विकास र जनताका सरोकारका मुद्दा एमालेसँग मात्र रहेको जनताले बुझेको बताउँदै एमालेका उम्मेदवारहरूलाई जिताउन जनता अतुर रहेको दावी गरे । बुटवलको सबै सुकुम्बासी समस्या स्थायी रूपमा समाधान आफूहरूले गर्ने नेता पौडेलको भनाइ छ ।
‘एमाले नेतृत्वको सरकारले अव्यवस्थित र सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरणको लागि सबै प्रक्रिया पूरा गरे पनि सरकार ढलेपछि त्यो काम रोकिन पुग्यो’ नेता पौडेलले भने, ‘अहिलेको गठबन्धन सरकारले भूमि आयोग नैं खारेज गरेर अन्तिम समय रोकिन पुगेको हो । अहिलेको सरकारले सुकुमबासीका समस्याप्रति कुनै तत्परता देखाएको छैन । एमाले नेतृत्वको सरकार बनेपछि पूर्जाबिहीन नगरबासीले जग्गाधनी बनाउँछौं ।’
पौडेलले तिनाउ दानव करिडोर निर्माण क्षेत्रका बसोबासीहरूको पनि उचित प्रबन्ध गर्ने पनि बताए । ‘सडक निर्माणको कार्य र सडक निर्माणका क्रममा प्रभावित स्थानीयहरूलाई सुरक्षित र उचित स्थानमा बसोबासको प्रबन्ध मिलाउँछौ’ नेता पौडेलले भने । नगरका प्रायजसो विकासका काम भइरहेको बताउँदै नेता पौडेलले जनताको विकासका चाहना आफूले पूर्ण रूपमा बुझेको बताए । ‘विकासको चाहना हामीले बुझेका छौं । कार्यान्वयनको जिम्मा हामी लिन्छौं । विकास सिक्न बुटवल आउने हामी बनाउँछौं’ पौडेलले भने ।
उनले बुटवलबाट मेयरका प्रत्यासी बाबुराम भट्टराई र उपमेयरका प्रत्यासी सावित्रादेवी अर्याल, एमालेसँग तालमेल गरेको राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवाहरूसहित सबै वडाहरूमा एमालेको जीत सुनिश्चित रहेको दावी गरे । घरदैलोमा नगरबासीको उत्साहजनक सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij