
मंगलवार , बैशाख २०, २०७९
भैरहवा, २० वैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले घनाबस्तीबाट गएको विद्युत् हाइटेन्सन लाइनलाई भूमिगत गराउन आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएको छ । स्थानीय तह निर्वाचनको सन्दर्भमा नेकपा एमाले तिलोत्तमा नगर कमिटीले जारी गरेको प्रतिबद्धता पत्रमा नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी घना बस्तीबाट गएको विद्युत् हाइटेन्सन लाइनको खतरालाई दृष्टिगत गरी वैकल्पिक व्यवस्थाअन्तर्गत यस्ता लाइनलाई भूमिगत गराउन पहल गरिने उल्लेख छ ।
यस्तै घोषणापत्रमा स्थानीय उपभोक्ता र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी वडाका सबै सडक बस्तीहरूमा जनसहभागिताको आधारमा सडक बत्तीको व्यवस्थापन गरिने एमालेले जनाएको छ । यसका लागि हरेक बस्तीबाट उज्यालो कोष स्थापना गरी नगरपालिकाबाट अनुदान प्रदान गरिने छ ।
हरेक घरमा धुँवारहित चुलो प्रयोगमा ध्यान दिइने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ । गोबरग्याँस प्लान्ट राख्नेलाई नगरपालिकाले छुट्टै अनुदानको व्यवस्था गर्ने योजनामा उल्लेख छ । विद्युत्भार र आर्थिक व्ययभार कम गर्न वैकल्पिक ऊर्जाको प्रयोगमा ध्यान दिइने छ । सबैका लागि खर्चले धान्न सक्ने, भरपर्दो, दिगो तथा आधुनिक ऊर्जामा पहुँच सुनिश्चित गर्नका लागि समन्वय गरिने एमालेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij