२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

तिलोत्तमा–९ का वडाअध्यक्ष न्यौपाने आचारसंहिताविपरीत चुनाव प्रचारमा

मंगलवार , बैशाख २०, २०७९

भैरहवा, २० वैशाख ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष नारायण न्यौपाने निर्वाचन आचारसंहिताविपरीत चुनाव प्रचारमा खटिएका छन् ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा सहभागी हुन नपाउने व्यवस्था छ ।

तर तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष न्यौपाने नेपाली काँग्रेसले नगरका विभिन्न क्षेत्रमा आयोजना हुँदै आएको चुनावी कार्यक्रममा सहभागी हुँदै आएका छन् । उनी २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

पार्टीका उम्मेदवारलाई जिताउन उनी विभिन्न वडामा सक्रिय हुँदै आएका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देही प्रमुख अयोध्या भण्डारीले जननिर्वाचित वडाअध्यक्ष कुनै दल वा उम्मेद्वारको पक्षमा चुनाव प्रचारमा लागे त्यो आचारसंहिताविपरीत हुने बताए । ‘वडाअध्यक्ष कुनै पनि चुनावी कार्यक्रममा सहभागी हुन पाइँदैन, त्यो आचारसंहिताविपरीत हुन्छ, ’उनले भने । भण्डारीले आचारसंहिता उल्लंघनको उजुरी आए कारवाही गर्ने बताए ।

वडाअध्यक्ष न्यौपानेले चुनावी कार्यक्रममा सहभागी हुँदै आएको बताए । ‘वडाअध्यक्षलाई त के लाग्ला र भनेर कार्यक्रमहरुमा सहभागी हुँदै आएको छु, ’उनले भने ।