भैरहवा, २१ वैशाख ।
२४ घण्टासम्म लगातार कार्यस्थलमै रहेर विभिन्न विषयसंग सम्बन्धित सफ्टवयेर, एप्स, वेभसाईट तथा रोबोटिक्स निर्माण गर्ने प्रतिष्पर्धात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस कलेजका ४८ जना विद्यार्थीले रात दिन लगातार रुपमा काम गरी फरक फरक विधाका १२ वटा परियोजनाहरु विकास गरेका छन् ।
ह्याकाथन अन्तर्राष्ट्रियस्तरमै प्रख्यात एक समन्वयात्मक तथा प्रतिष्पर्धात्मक प्रतियोगिता हो जसले विद्यार्थीहरुमा रहेको नविनतम सोच, सीप र दक्षतालाई उजागार गर्न सहयोग गछै । प्राविधिक विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरुकोबीचमा प्रतिष्पर्धात्मक क्षमताको विकास गरी बजारमा माग रहेका विभिन्न विषय दिएर २४ घण्टासम्म क्याम्पसको प्राविधिक ल्याब हलमै बसेर विद्यार्थीहरुले १२ वटा विषयमा परियोजना विकास गरेको आईटी फ्याक्ल्टी कोडिनेटर अब्दुल हकले बताए ।
मेन्टरको रुपमा रात दिन विद्यार्थीसंगै बसेर नवराज कोइराला, सुरज पाण्डे राजीब अर्याल र चिरञ्जीबी रेग्मीले पर्यटन, कृषि, होटल व्यवस्थापन, सेवा क्षेत्र र अनलाईन भोटिङ लगायतका विषयमा विद्यार्थीहरुले नविनतम परियोजनाहरु तयार पारेको बताए ।
क्रिमसन कलेजका विद्यार्थीहरुले स्थापना गरेको आईटी क्लबले आयोजना गरेको यो कार्यक्रममा प्रस्तुत भएका परियोजनाहरुको मुल्यांकन गरी ३ वटा उत्कृष्ट परियोजनालाई पुरस्कृत गरिएको कार्यक्रमका मुल्यांकनकर्ता नारायण भुसालले बताए ।
उत्कृष्ट परियोजना विकास गरेका विद्यार्थीहरुलाई लक्षित गरी तत्कालै व्यवसायिक योजना तयारी तालिम प्रदान गरेर विद्यार्थीहरु स्वरोजगार र नयाँ स्टार्ट अपमा समेत उत्प्रेरित गरिने प्राध्यापक मुकुन्द ज्ञवालीले बताए ।
क्याम्पस प्रमुख देवी भण्डारीले कलेजमा यस्ता खालका विद्यार्थी लक्षित कार्यक्रमहरु नियमित हुने र बजारले खोजेका सिपहरु विद्यार्थीलाई प्रदान गर्दै जाने बताए ।