
बुधवार , बैशाख २१, २०७९
भैरहवा, २१ वैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सबै वडाहरुमा चुनावी प्रचारलाई तीव्र रुपमा अगाडी बढाएको छ ।
प्रत्येक वडाहरुमा घरदैलो गर्दै भोट माग्दै हिँडेको नेकपा एमाले टोलटोलमा पुगेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा एमालेले सिद्धार्थनगरमा प्रत्येक वडाका टोलटोलमा गीत गाउँदै नाच्दै भोट मागिरहेका छन् ।
एमालेबाट सिद्धार्थनगर नगरपालिकामा मेयरका उम्मेदवार डा. राम प्रसाद बस्याल हंसिलो अनुहारसहित जनताको घरघरमा भोट माग्दै हिँडिरहेका छन् । बस्यालले जनताले किन भोट दिएछु भन्ने जीवनभर नगराउने वाचा गर्दै एमालेलाई विजयी बनाउन आग्रह गरेका छन् ।
’मैले मतदातालाई हार्दिक अनुरोध गर्दछु तपाईहरुले मलाई मत दिनुहोस् जनताको पक्षमा काम गर्ने छु । कुनै दिन गलत काम गर्ने छैन । किन मत दिएँ भन्ने कहिल्यै गराउने छैन बस्यालले भने । ’
डा. बस्याल अन्य पार्टीका उम्मेदवार भन्दा शालीन शैलीका र जीवनमा कही कतै दाग नलागेका उम्मेदवार हुँदा अन्य पार्टीको समेत मत तान्दा बस्यालले सजिलै चुनाव जित्न सक्ने एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाको दावी छ । थापा भन्छन्, ‘एमाले संगठनमा पनि सबैभन्दा अब्बल छ, प्रविधिमा अब्बल छ हरेक हिसाबले अंगाडी हुँदा सजिलै चुनाव जितिन्छ । ’
सिद्धार्थनगर नगरपालिकाका १३ वटाहरुमध्ये धेरै वडाका टोल टोलमा पुगेको एमालेले आफ्ना चुनावी अभियानलाई आक्रामक ढंगले अंगाडी बढाइरहेको छ । एमाले सिद्धार्थनगर नगरपालिकाको उप मेयर पदकी उम्मेदवार उमा अधिकारीले एक पटक युवालाई मत दिएर जिताउन आग्रह गरेकी छिन् । अधिकारीले युवाका, खेलकुदका, विद्यार्थीका र महिलाका एजेण्डासहित जनतासंग मत माग्दै हिँडेकी छिन् । अधिकारी पारिवारिक पृष्ठभूमि पनि बलियो, राजनैतिक हिसाबले पनि अन्य भन्दा सक्षम भएका कारण चुनाव ढुक्कका साथ जित्ने एमालेको दावी छ ।
गत स्थानीय निर्वाचन बहुमत वडाअध्यक्ष, सदस्यसहित मेयर र उपमेयर जितेको एमालेले यसपटक पनि आफ्नो बिरासत कायम नै राख्ने एमालेको दावी छ । एमालेले सशक्त उम्मेदवार उठाएर जसरी पनि चुनाव जित्ने अभियानमा एकताबद्ध भएर चुनावी मैदानमा गएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij