
बिहिवार , बैशाख २२, २०७९
भैरहवा, २२ वैशाख ।
बुधबार रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित झुंगा परासीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरिरहेका थिए । राप्रपाबाट रोहिणी गाउँपालिका अध्यक्षका उम्मेदवार ताहिर अली, उपाध्यक्षका उम्मेदवार शिवकान्ति हरिजन, वडा नम्बर ३ अध्यक्षका उम्मेदवार वीर बहादुर क्षेत्री, वडासदस्यहरु लगायतको टोली मतदातासँग मत माग्न व्यस्त देखिन्थे ।
प्रचारप्रसारमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । सम्पूर्ण उम्मेदवारहरु उत्साहित देखिन्थे । गत निर्वाचनमा केही मतले पराजित ताहिर अली यसपटक निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् । मतदातासँग मत माग्दै उनले भने, ‘यसपटक रोहिणीमा राप्रपा नेतृत्वको सरकार आए गाउँपालिकाको धेरै समस्या समाधान गर्छौं ।’
अध्यक्षका उम्मेदवार अलीले घरदैलोमा उत्साहजनक उपस्थिति नै राप्रपाको जीतको मुख्य आधार भएको बताए । उनले राप्रपालाई जिताउनु नै जनताको चाहना भएको बताए । उनले भने, ‘रोहिणीमा धेरै काम गरेका छौं, प्राविधिक कारणले केही मतले हारेका थियौं, जसका कारण जनतामा पीडा भयो, राप्रपाले नै विकास गर्छ भन्ने कुरा जनताले बुझेकाले यसपटक हाम्रो जीत सुनिश्चित छ ।’
राप्रपा नेतृत्वको स्थानीय सरकारले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिने उनले बताए । कक्षा १२ सम्म निःशुल्क शिक्षा, उपचारको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्नका लागि स्वास्थ्य उपचारको व्यवस्था र बेराजगार युवायुवती तथा महिलालाई रोजगारको व्यवस्था हुने उनले बताए ।
राप्रपाबाट गाउँपालिका उपाध्यक्षका उम्मेदवार शिवकान्ति हरिजनले जनताको उत्साहजनक सहभागिताले आफूहरुले निर्वाचन जितिसकेको महसुस भएको बताइन् ।
रोहिणी–३ वडाअध्यक्षका उम्मेदवार वीर बहादुर क्षेत्रीले विगतमा गरेका कामको मुल्यांकन गर्दै जनताले राप्रपालाई पुनः जिताउने बताए ।
रोहिणीमा राप्रपा कसरी बलियो ?
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा तत्कालिन संघीय समाजवादी पार्टी, नेपालका उम्मेदवार सनोज कुमार यादव निर्वाचित भएका थिए । उनले राप्रपाका ताहिर अलीलाई पराजित गरेका थिए । केही महिना अघि जनता समाजवादी पार्टी नेपाल, (जसपा) परित्याग गर्दै यादव नेकपा (एमाले)मा प्रवेश गरेका थिए । उनी अहिले एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार भइ चुनावी प्रचारप्रसारमा लागेका छन् । गत निर्वाचनमा रोहिणीमा एमालेले कुनै पनि वडामा जित्न सकेन । रोहिणी गाउँपालिका उपाध्यक्षमा राप्रपाका उम्मेदवार शिवकान्ति हरिजन निर्वाचित भएकी थिइन् । उनी वैशाख ३० गते हुने निर्वाचन पुनः सोही पदमा उम्मेदवारी दिएकी छन् ।
गत स्थानीय निर्वाचनमा रोहिणी गाउँपालिकामा उपाध्यक्षसहित वडा नम्बर १, ३ र ४ मा वडाअध्यक्ष राप्रपाले जितेको थियो । वडा नम्बर २, ५ र ७ तत्कालिन संघीय समाजवादी फोरम (जसपा) तथा वडा नम्बर ६ नेपाली कांग्रेसले जितेको थियो । तर वडा नम्बर २ का वडाअध्यक्ष सरोज कुमार पाण्डेय जसपा परित्याग गरी राप्रपामा प्रवेश गर्दै पुनः वडाअध्यक्षका उम्मेदवार बनेका छन् ।
त्यस्तै जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख पशुपति यादव राप्रपाबाटै रोहिणी गाउँपालिका–५ मा वडाअध्यक्षको उम्मेदवार बनेका छन् । वडा नम्बर ४ मा राप्रपाबाट जितेका वडाअध्यक्ष तारानाथ यादव उम्मेदवार छन् । त्यसै गरी वडा नम्बर ५ मा राप्रपाका पुरा नेता तथा तत्कालिन स्थानीय निकायको अनुभव बटुलेका नेता सीताराम सिंह वडाअध्यक्षको उम्मेदवार छन् । वडा नम्बर ७ मा पूर्व गाविस उपाध्यक्ष अनान अहमद भाट राप्रपाबाट उम्मेदवार छन् । जसपाबाट निर्वाचित वडा नम्बर ७ का वडा सदस्य तथा कार्यवाहक वडाअध्यक्ष दुःखनी थारु राप्रपामा प्रवेश गरेकी छन् । यसरी हेर्दा रोहिणीमा राप्रपाले सहज रुपमा जित्न सक्ने आंकलन गरिएको छ ।
उम्मेदवारको टिकट वितरणलाई लिएर एमालेभित्र असुन्तष्टि देखिएको थियो । एमालेमा रहेर लामो समय राजनीति गरेका संजय गुप्ता लगायतका नेताहरुले पार्टी परित्याग गरेका छन् । एमालेका उम्मेदवार सनोज कुमार यादव आफूबाहेक जसपाबाट कुनै वडाअध्यक्ष एमालेमा प्रवेश नगराएकाले एमालेसँग प्रतिष्पर्धा हुन नसक्ने जसपाका केही नेताहरु बताउँछन् । त्यस्तै यसपटक जसपाबाट युवा नेता विद्या यादव उम्मेदवार बनेका छन् ।
यहाँ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन छ भने जसपा, राप्रपा, एमाले, लोसपा, राष्ट्रिय जनमुक्ति पार्टी एक्लाएक्लै प्रतिष्पर्धामा छन् । कांग्रेसबाट बैजनाथ सहानी (मुकेश) गाउँपालिका अध्यक्षमा उम्मेदवार छन् ।
राप्रपा केन्द्रीय सदस्य स्वाती थापा भन्छिन्, ‘यसपटक रोहिणीमा राप्रपाले जित्ने सुनिश्चित छ, घरदैलोमा जनताको बाक्लो उपस्थिति भइरहेको छ, घरदैलोमा पुग्दा मतदाताबाट राप्रपालाई जिताउने आश्वासन आइरहेको छ । ’उनले राप्रपा नेतृत्वको स्थानीय सरकारले जनताको पक्षमा काम गर्ने दावी गरिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij